Alliancekhabar

आइतबार, जेठ १३, २०८१

हेटौँडा, जेठ १३ गते : चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिना बाँकी हुँदा बागमती प्रदेश सरकारको आय लक्ष्यको ५० प्रतिशतभन्दा कम छ । प्रदेश सरकारको राजस्वका स्रोत खुम्चिँदै गर्दा आफैँले निर्धारण गरेको अनुदान र राजस्वको लक्ष्य पूरा नहुने देखिएको हो ।

प्रदेश सरकारले चालु आवमा राजस्व र अनुदानबाट गरी ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँ प्राप्त हुने अनुमानसहित बजेट बनाएकामा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको चालु आवको वैशाखसम्मको वित्तीय प्रगति विवरण अनुसार अनुदान र राजस्व प्राप्त नहुने भएको छ । मन्त्रालयका अनुसार अनुदान र राजस्वबाट गरी गत वैशाख मसान्तसम्ममा ४९.३८ प्रतिशत अर्थात् ३० अर्ब ९६ करोड ३९ लाख ८८ हजार ३७४ रुपियाँ प्राप्त भएको छ ।

मन्त्रालयका सूचना अधिकारी डा. अर्जुन अर्यालले प्रदेश सरकारले चालु आवका लागि तय गरेको अनुदान र राजस्व प्राप्तिको अवस्था चालु आवको दुई महिना बाँकी हुँदा लक्ष्यको अनुपातमा कम भएको जानकारी दिनुभयो ।

गत चैत मसान्तसम्ममा अनुदान र राजस्व गरी ४१.४३ प्रतिशत अर्थात् २५ अर्ब ९८ करोड ३१ लाख दुई हजार ४१६ रुपियाँ मात्र सङ्कलन भएको थियो । सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान अनुमानभन्दा कम प्राप्त भएको र कतिपय राजस्व सङ्कलनमा समेत गिरावट आएकाले लक्ष्य अनुसार आय नभएको मन्त्रालयको भनाइ छ ।

सङ्घीय सरकारबाट समानीकरण, विशेष, ससर्त र समपूरक गरी चालु आवमा १७ अर्ब ८१ करोड २३ लाख रुपियाँ अनुदान प्राप्त हुने अनुमान गरिएकामा चालु आवको दुई महिना बाँकी हुँदा हालसम्म ५६.१६ प्रतिशत अर्थात् १० अर्ब २८ लाख ८४ हजार ९५० रुपियाँ निकासा भई प्रदेश सरकारलाई प्राप्त भएको छ । मन्त्रालयका अनुसार सङ्घीय सरकारबाट प्राप्त हुने अनुमान गरिएको समपूरक अनुदान चालु, समपूरक अनुदान पुँजीगत र अन्य अनुदान चालुतर्फको प्राप्तिको अवस्था चालु आवको १० महिनासम्ममा शून्य छ । प्रदेश सरकारको आफ्नै स्रोतबाट चालु आवमा तीन अर्ब ७५ करोड ५२ लाख ३५ हजार रुपियाँ राजस्व सङ्कलन हुने अनुमान गरेकामा गत वैशाखसम्ममा ७९.७८ प्रतिशत अर्थात् दुई अर्ब ९९ करोड २० लाख ६७ हजार ४५७ रुपियाँ सङ्कलन भएको छ । गत चैतसम्ममा वृद्धि भएर ७१.२३ प्रतिशत अर्थात् दुई अर्ब ६७ करोड ४७ लाख ४१ हजार ८८१ रुपियाँ सङ्कलन भएको थियो ।

यसै गरी गत आवको नगद मौज्दात, बेरुजु तथा अनुदान फिर्ताबाट गरी १४ अर्ब ४५ करोड ४७ लाख तीन हजार रुपियाँ प्राप्त हुने अनुमान गरेको प्रदेश सरकारले गत वैशाखसम्ममा ५.०७ प्रतिशत अर्थात् ७३ करोड ६२ लाख २६ हजार २४५ रुपियाँ यो अवधिमा प्राप्त गरेको छ ।

सूचना अधिकारी अर्यालले घरजग्गा कारोबार कम हुँदा घरजग्गा रजिस्ट्रेसन र ढुङ्गा, गिट्टी, बालुवाको ठेक्का कम लाग्दा दहत्तर बहत्तर अर्थात् ढुङ्गा, गिट्टी, बालुवालगायतको बिक्रीबाट हुने आय अनुमानभन्दा कम प्राप्त भएकाले अनुमान गरेको राजस्व अनुसार सङ्कलन भएको बताउनुभयो । यस्तै प्रदेश सरकारले घरजग्गा रजिस्ट्रेसन दस्तुर, मनोरञ्जन कर, मूल्य अभिवृद्धि कर, खानी तथा खनिजसम्बन्धी रोयल्टी, दहत्तर बहत्तरलगायत बाँडफाँटबाट २६ अर्ब ६८ करोड ६८ लाख ४० हजार रुपियाँ सङ्कलन हुने अनुमान गरेकामा चालु आवको १० महिनाको अवधिमा ६४.५९ प्रतिशत अर्थात् १७ अर्ब २३ करोड ६३ लाख ७३ हजार ७२२ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

यो अवधिमा बाँडफाँटबाट प्राप्त हुने राजस्वतर्फ वन रोयल्टी, पर्वतारोहणबापतको रोयल्टी, सरकारी सम्पत्ति बिव्रmीबाट प्राप्त रकम, प्रशासनिक दण्ड, जरिबाना र जफत, बिमा दाबी प्राप्ति र बेरुजुबाट हुने आम्दानी लक्ष्यभन्दा बढी सङ्कलन भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल