सुर्खेत २५ वैशाख :
कर्णालीको समृद्धिसँग जोडिएको दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको मुख्य ड्रिलिङको काम धमाधम भइरहेको छ । चिनियाँ सरकारको जियोलजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा भइरहेको अन्वेषणको अन्तिम ड्रिलिङको काम आइतबारदेखि सुरु भएको हो । दैलेखको भैरबी गाउँपालिका-१ स्थित जलजलेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मुख्य ड्रिलिङको उद्घाटन गरेका हुन् ।
चार महिनामा सम्पन्न हुने मुख्य ड्रिलिङले सो स्थानमा पेट्रोलियम पदार्थ वा ग्यास भए नभएको यकिन हुनेछ भने पेट्रोलियम पदार्थ उत्खनन् गर्न सकिने वा नसकिने विषयम अन्तिम नतिजा हाँसिल हुनेछ । पेट्रोलियम अन्वेषण अन्तर्गत पूर्वाधार निर्माणको काम सम्पन्न भएसँगै मन्त्री भण्डारीले अन्तिम चरणका कामको शुभारम्भ गरेका हुन् ।
ड्रिलिङको शुभारम्भ गर्दै मन्त्री भण्डारीले विश्वव्यापी इन्धन संकटले नेपालमा पर्नसक्ने असरलाई कम तथा देशको अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण रहेको परियोजना सफल बनाउन कुनै पनि कसरत बाँकी राख्न नहुने बताए ।
परियोजना सफल भएको खण्डमा कर्णालीबाट इन्धन समृद्धि सुरु हुने बताउँदै मन्त्री भण्डारीले मन्त्रालयबाट हुने सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए । २०७२ मा भारतले लगाएको अघोषित नाकाबन्दीपछि चर्चित बनेको पेट्रोलियम पदार्थका खानीहरूको अन्वेषण र उत्खननको काम नतिजान्मुख चरणमा प्रवेश गरेको हो ।
खानी तथा भूगर्भ विभाग अन्तर्गत पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार मुख्य ड्रिलिङका लागि उच्च प्रविधिसहितका आवश्यक उपकरण प्रयोग गरी अन्तिम नतिजा आउने गरी काम गरिनेछ ।
अब चार हजारदेखि चार हजार पाँच सय मिटरसम्मको गहिराईमा अन्तिम अन्वेषणको काम गरिने परियोजना प्रमुख नापितले बताए । जसका लागि एक सय ५७ ट्रकबाट आवश्यक उपकरणहरू परियोजनास्थलमा पुगिसकेका छन् भने केही उपकरणहरू ल्याउन बाँकी छ ।