पाटन (ललितपुर), २९ चैत :
ललितपुर महानगरपालिकाले महानगरभित्रका दशवटा महिला समूहलाई सम्मान गरेको छ । महानगरले आज आयोजना गरेको उत्कृष्ट महिला समूह घोषणा कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रममा वडा नं ६ मा रहेको वैश्य वर्णं माँ पुचःलाई सर्वोत्कृष्ट महिला समूह घोषणा गर्दै पुरस्कृत गरेको छ ।
वैश्य वर्ण माँ पुचसहित अरु नौवटा समूह उत्कृष्ट महिला समूहको रुपमा पुरस्कृत भएका हुन् । महानगरले प्रत्येक वर्ष महानगरभित्र रहेका महिला समूहले गरेको कामको आधारमा उत्कृष्ट महिला समूह छनोट गर्ने गरेको छ । त्यसैगरी, वडा नं ६ मा रहेको सिन्चाहिटी मिसा पुचः, वडा नं ११ मा रहेको दथुलँ महिला समूह, वडा नं २४ धापाखेलमा रहेको श्री शक्ति महिला समूह, वडा नं २९ हरिसिद्धिमा रहेको विहार महिला समूह पहिलो पटक उत्कृष्ट महिला समूहमा सम्मानित हुन सफल भए । त्यस्तै, वडा नं २ सानेपामा रहेको साहसी महिला समूह, वडा नंं १३ एकान्तकुनामा रहेको नारी जागृति समूह यस वर्ष पनि उत्कृष्ट महिला समूहमा पुरस्कृत भए । यी दुई समूह अघिल्लो वर्ष पनि उत्कृष्ट समूहमा पुरस्कृत हुन सफल भएका थिए ।
त्यस्तै,वडा नं ६ मा रहेको कनिबहाल जागृति महिला समूह, वडा नं ९ मा रहेको सप्तखेल मिसा पुचः र वडा नंं ९ मा रहेको लोल महिला बचत तथा ऋण समूह तेस्रो पटक सम्मानित हुन सफल भए । पुरस्कृृत हुने महिला समूहलाई महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमख मञ्जली शाक्य बज्राचार्यले पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
पुरस्कार वितरणसँगै मन्तव्य राख्नुहुँदै नगरप्रमुख चिरीबाबु महर्जनले उत्कृष्ट महिला समूहले गरेका सकारात्मक प्रयासको प्रशंसा गर्नुभयो । “तपाईहरु टोल, छिमेक, गाउँ र वडाको नेता हो । अरुले पछ्याउन मिल्ने खालका काममा लाग्न तपाईंहरुलाई सल्लाह दिन चाहान्छु । म २०३८ सालदेखि तीन पटक वडाध्यक्ष, दुई पटक नगरप्रमुख भएँ, अहिलेसम्म एक जना महिला पनि वडा अध्यक्षमा जितेको छैन, एक दुई जना महिला त वडा अध्यक्षमा आउनुपर्ने हो नि ! अब, २०८४ मा २९ वटा वडामध्ये घटीमा पनि तीन जना वडाध्यक्ष महिला आउन सक्नुस्, मेरो शुभकामना छ ।” महर्जनले भन्नुभयो ।
उहाँले विगतमा आफूले प्लास्टिक झोलामुक्त बनाउने भनेर घोषणा गरेको तर त्यसको विकल्पमा अहिलेसम्म केही हुनसकेको छैन भन्नुहुँदै महिला समूहलाई त्यसका लागि योजना लिएर आउनुस्, म सहयोग गर्न चाहन्छु भन्ने प्रतिबद्धता जनाउनुभयो ।