घोराही, कात्तिक २४ गते । लुम्बिनी प्रदेशमा पाठेघरको क्यान्सरको जोखिम बढ्दै गएको देखिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले एक वर्षको अवधिमा विभिन्न जिल्लामा गरेको परीक्षणले पाठेघरको क्यान्सरको जोखिम बढ्दै गएको जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा प्रदेशका कुल १२ जिल्लामा करिब ४१ हजार ४२५ जना महिलाको पाठेघरको मुखको क्यान्सर भए/नभएको परीक्षण गर्दा एक हजार ४९९ जनामा क्यान्सरको सङ्केत देखिएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले जानकारी दिनुभएको छ ।
यो भनेको महिलाको पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको सङ्केत हो । निर्देशक गिरीले भन्नुभयो, “असुरक्षित यौन सम्पर्कसँगै सरसफाइमा ध्यान नदिँदा पाठेघरको मुखको क्यान्सरको जोखिम बढेको देखिन्छ ।” उहाँका अनुसार गत वर्ष प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देही जिल्लामा परीक्षण गर्दा पाठेघर क्यान्सरको सङ्केत देखिएको थियो । १० हजार ४०८ जना महिलाको पाठेघरको मुखको परीक्षण गर्दा ६३२ जना महिलामा क्यान्सरको लक्षण देखिएको निर्देशक डा. गिरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रारम्भिक जाँचका क्रममा धेरै महिलामा पाठेघर क्यान्सरको लक्षण देखिएको छ, तथापि यकिन गर्नका लागि बिरामीले भरपर्दाे सुरक्षा जाँच गर्नु पर्छ ।”
पाल्पा जिल्लामा पाँच हजार ७३९ जनाको पाठेघर परीक्षण गर्दा २२५, दाङमा छ हजार ७१७ जनाको परीक्षण गर्दा १२८ जना, बर्दियामा चार हजार एक सय १५ जनाको परीक्षण गर्दा एक सय १५ जनामा लक्षण देखिएको हो । नवलपरासी पश्चिममा एक हजार ४२६ जनाको परीक्षण गर्दा १०३ जना र बाँके जिल्लामा चार हजार १०१ जनाको परीक्षण गर्दा १०२ जनामा पाठेघरको क्यान्सरको लक्षण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गुल्मीमा एक हजार ९४२ जनाको परीक्षण गर्दा ८२ जना, प्युठानमा दुई हजार ३६४ जनाको परीक्षण गर्दा ५७ जना, रोल्पाको एक हजार ३०८ जनाको परीक्षण गर्दा २३ जनामा लक्षण देखिएको छ । अर्घाखाँचीमा एक हजार ४९० जनाको परीक्षण गर्दा २० जना, रुकुम पूर्वमा ४३० जनाको परीक्षण गर्दा आठ जना र कपिलवस्तुमा एक हजार ३८५ जनाको परीक्षण गर्दा चार जनामा पाठेघरको क्यान्सरको लक्षण देखिएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गिरीले जानकारी दिनुभएको छ । पाठेघरको मुखमा क्यान्सर भए/नभएको पहिचान गर्न यो परीक्षण पाठेघरमा सामान्य समस्या देखिए पनि हरेक महिलाले गर्नुपर्ने निर्देशनालयका निर्देशक डा. गिरीले दिनुभयो ।
निर्देशक डा. गिरीले भन्नुभयो, “यो परीक्षणले क्यान्सर रोग पहिचान गर्नुका साथै भविष्यमा हुने क्यान्सरको जोखिमबाट बच्न विभिन्न यौन रोगको पनि बेलैमा पहिचान र उपचार गर्न सकिन्छ ।”
पछिल्लो समय कम उमेरमा विवाह, असुरक्षित यौनसम्पर्कलगायतका कारण पाठेघरको क्यान्सरको जोखिम बढेकाले हरेक महिला आफ्नो स्वास्थ्यप्रति सचेत बन्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
पाठेघरको क्यान्सर ‘ह्युमन पपिलोमा भाइरस’ सङ्क्रमणका कारणले हुने र त्यो सङ्क्रमणबाट क्यान्सरमा परिणत हुन सक्ने भएकाले महिलाले पाठेघरको परीक्षण समयमै गर्न आवश्यक रहेको सुझाव गिरीको छ ।