वासुलिङ (बैतडी) असोज २८ गते ।
बैतडीको खोड्पेमा निर्माण गरिएको ट्रमा सेन्टर सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ । दुर्घटनामा परेका घाइतेको आकस्मिक उपचार सहज बनाउने उद्देश्यले प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको हो ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेश सभा बैठकमा चालु आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै बैतडीको खोड्पेमा प्री ट्रमा सेन्टर सञ्चालनका लागि एक करोड रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो ।

खोड्पेमा ट्रमा सेन्टर सञ्चालनका लागि आव २०७७/७८ मा भवन निर्माण गरिएको भए पनि आवश्यक जनशक्ति र उपकरणको अभावमा सञ्चालनमा आउन सकेको थिएन । सङ्घीय सरकारको ५० लाख रुपियाँ र पाटन नगरपालिकाको सात लाख रुपियाँ गरी कुल ५७ लाख रुपियाँ लागतमा उक्त भवन निर्माण गरिएको थियो ।
लामो समयदेखि सञ्चालनको प्रतीक्षामा रहेको ट्रमा सेन्टरका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेपछि सेवा सुरु हुने अपेक्षा गरिएको छ । खोड्पेमा प्री ट्रमा सेन्टर सञ्चालनमा आएमा दुर्घटना तथा विपत्मा परी घाइते भएका बिरामीलाई तत्काल उपचारसेवा उपलब्ध गराउन सहज हुने स्थानीयको अपेक्षा छ ।
खोड्पे सडक सञ्जालको महत्वपूर्ण क्षेत्र भएकाले यहाँ प्री ट्रमा सेन्टर सञ्चालनमा आएमा दुर्घटनामा परेका घाइतेलाई प्रारम्भिक उपचार उपलब्ध गराउन र थप उपचारका लागि अन्यत्र लैजानुपर्ने अवस्थालाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसै गरी डोटीको जोरायलस्थित छतिवन स्वास्थ्य चौकी सञ्चालनका लागि पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । तीन वर्षदेखि सञ्चालनमा आउन नसकेको उक्त स्वास्थ्य चौकीका लागि एक करोड रुपियाँ विनियोजन गरिएको मन्त्री मल्लले जानकारी दिनुभयो ।

