काठमाडौँ, असोज २७ गते ।
गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबिच द्विपक्षीय भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली पुग्नुभएका गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच आज भेटवार्ता भएको हो ।
भेटवार्तामा उहाँहरूबिच दुई देशका साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्य सुदृढ गर्ने बारेमा विचार विमर्श भएको गृह मन्त्रालयले जनाएको छ ।

भेटमा गृहमन्त्री गुरुङले नेपाली उद्योगी तथा व्यवसायीले भारतीय बजारमा पहुँचका सम्बन्धमा भोग्दै आएका प्राविधिक समस्या (विशेषगरी बिआइएस प्रमाणीकरणलगायत) समस्या समाधानमा चासो राख्नुभएको थियो । नेपालको चासोप्रति भारतीय समकक्षीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
गृहमन्त्री गुरुङ बिम्स्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन सोमबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । गृहमन्त्री गुरूङ यही असोज २८ गते बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।

