alliance khabar

बिहिबार, भाद्र १८, २०८३

बर्दिबास, भदौ १८ गते ।

 महोत्तरीको बर्दिबास नगरपालिका–५ सहित चुरे क्षेत्रमा दुई सातादेखि भाइरल ज्वरोको प्रकोप फैलिएको छ। भौगोलिक विकटता, निरन्तरको वर्षा, बाढी तथा पहिरोका कारण समयमै स्वास्थ्य सेवा र औषधि नपाउँदा चुरे क्षेत्रका सयौँ परिवार प्रभावित भएका छन्।

चुरेका प्रभावित बस्तीबाट उपचारका लागि करिब ३० किलोमिटर टाढा रहेको बर्दिबास पुग्नुपर्ने बाध्यता छ। यो दूरीमध्ये करिब १० किलोमिटर खोलाको बाटो पर्छ। दैनिकजसो खोलामा आउने बाढीका कारण बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्न तथा बर्दिबासबाट स्वास्थ्यकर्मीको टोली प्रभावित बस्तीमा पुग्न नसक्दा भाइरल ज्वरोबाट प्रभावित हुनेको संख्या बढ्दै गएको जनाइएको छ।

स्थानीयले चुरे क्षेत्रका बस्तीमा निरन्तर वर्षा र बाढीका कारण यातायात तथा स्वास्थ्य सेवामा पहुँच कठिन बनेकाले प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य शिविर सञ्चालन, पर्याप्त औषधीको व्यवस्था र स्वास्थ्यकर्मीको सहज पहुँच आवश्यक रहेको बताएका छन्।

रुघाखोकी लाग्ने, टाउको तथा जीउ दुख्ने, खान मन नलाग्ने र एकदेखि तीन डिग्रीसम्म ज्वरो आउनेजस्ता लक्षण देखिएपछि बालबालिकादेखि वृद्धवृद्धासम्म प्रभावित भएका छन्। चुरे क्षेत्रका अधिकांश बस्तीमा भाइरल ज्वरो देखिए पनि वडा नं. ५, १० र ११ का बस्ती बढी प्रभावित भएको सम्बन्धित वडाध्यक्षहरूले बताउनुभएको छ।

बर्दिबास–५ का वडाध्यक्ष कहारमान स्याँवाका अनुसार बरडाँडा, ढुङ्ग्रे, गढन्ता, टुटेश्वर र चेरुलगायत बस्तीमा घरैपिच्छे बिरामी छन्। वडाका सबै बस्तीको अवस्था हेर्दा करिब दुईदेखि तीन सय जना भाइरल ज्वरोबाट प्रभावित रहेको उहाँले बताउनुभयो।

भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ। बरडाँडास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक विल्टु यादवका अनुसार विद्यालयका करिब ७५ प्रतिशत विद्यार्थी ज्वरोबाट प्रभावित भएका छन्।

यादवले दैनिक आउने बाढीका कारण बिरामीले समयमै उपचार पाउन नसक्दा विद्यालयको पठनपाठनसमेत प्रभावित भएको बताउनुभयो।

नगर स्वास्थ्य अधिकृत सुरेश पासवानका अनुसार मौसममा केही सुधार भएपछि बुधबार ट्र्याक्टरमार्फत प्रभावित क्षेत्रमा पुगेको स्वास्थ्यकर्मीको टोलीले विकट क्षेत्र बरडाँडामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा मात्रै २६ महिला र ३३ पुरुष गरी ५९ जना भाइरल ज्वरोबाट प्रभावित भएको पाइएको छ।

‘शिविरमा उपचारका लागि आएका सबैलाई स्वास्थ्य परामर्शसँगै निःशुल्क औषधि वितरण गरिएको छ। यसबाट प्रकोप नियन्त्रणमा आउने अपेक्षा छ,’ उहाँले भन्नुभयो।

भाइरल ज्वरोका कारण वडा नं. १० का वडाध्यक्ष प्रमोद मोक्तान आफैँ एक सातादेखि थला परेको बताउनुभयो।

‘बल्ल तङ्ग्रिँदै छु, कमजोरी उत्तिकै छ,’ उहाँले भन्नुभयो।

वडा नं. १० स्थित आधारभूत स्वास्थ्य इकाइका अहेव जीतबहादुर श्रेष्ठका अनुसार भदौ १ गतेदेखि १६ गतेसम्म उपचारका लागि आएका २०२ जनामध्ये एक सय जनामा भाइरल ज्वरो देखिएको छ।

त्यस्तै, बर्दिबास–११ को उत्तरी खयरमारादेखि छोड्केसम्मका बस्तीमा समेत भाइरल ज्वरोको समस्या देखिएको खयरमारा स्वास्थ्य चौकीका प्रमुख रामवली यादवले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ