काठमाडौं, भदौ १७ गते।
रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का स्थानीयवासीहरुले आज रु. १ लाख ७८ हजार ५० रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
स्थानीय तथा समाजसेवी कोमल लामिछाने र कमला लामिछाने दम्पतीले बाढीपीडितका लागि रु. १ लाख सहयोग गर्नुभयो । उक्त रकम गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता नारायणबहादुर सुवेदीलाई हस्तान्तरण गर्नुभएको हो ।
सहयोग हस्तान्तरण गर्दै लामिछानेले विपत्तिका समयमा पीडितलाई सहयोग गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस भएको बताउनुभयो । उहाँले विपत्तिका बेला सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग जुटाएर पीडितसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

गोकर्णेश्वर–५ स्थित प्रगतिमार्ग डोलेगाल टोल सुधार समिति र डोलेगाल महिला समूहको संयुक्त पहलमा टोलवासीबाट संकलित रु. ७८ हजार ५० रुपैयाँ पनि आज बाढीपीडितका लागि हस्तान्तरण गरिएको छ। टोल सुधार समितिका अध्यक्ष केन घले र महिला समूहकी अध्यक्ष धनलक्ष्मी गुरुङले उक्त रकम वडा अध्यक्ष सुवेदीलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बाेल्दै अध्यक्ष सुवेदीले स्थानीयवासीले विपत्तिको समयमा देखाएको सहयोग र मानवीय भावनाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले , प्राप्त रकम वास्तविक बाढीपीडितसम्म पारदर्शी रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सुवेदीले विपत्तिका समयमा थोरै–थोरै सहयोग जुटाउँदा पनि पीडितलाई ठूलो राहत पुग्ने भन्दै सबैलाई मानवीय भावनाका साथ सहयोग गर्न आग्रह गर्नुभयो ।