सिन्धुपाल्चोक, साउन १७ गते ।
साउन १० गते आएको रसुवा बाढीमा परी मृत्यु भएका तथा सम्पर्कविहीन सिन्धुपाल्चोकवासीका परिवारलाई स्थानीय तहले नगद राहत दिने घोषणा गरेका छन्।
बाह्रबिसे नगरपालिकाले आफ्ना नगरवासीको रसुवा बाढीमा परी मृत्यु भएका तथा सम्पर्कविहीन भएका प्रतिपरिवारलाई एक लाख १५ हजार रुपियाँका दरले नगद राहत प्रदान गर्ने भएको नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो। नगरपालिकाको ९९औँ कार्यपालिका बैठकले बाढीमा परी एक जनाको मृत्यु भएको र ६१ जना सम्पर्कविहीन भएका नगरवासीका परिवारलाई नगद राहत तथा घाइते दुई जनाको उपचार खर्च व्यहोर्ने निर्णय गरेको उहाँले बताउनुभयो।
बाढीमा सम्पर्कविहीन नगरवासीको खोज तथा उद्धार, राहत र सुरक्षित पुनःस्थापनाको काम थालिएको नगरप्रमुख बस्नेतले बताउनुभयो।
त्रिपुरासुन्दरी गाउँपालिकाले रसुवा बाढीमा परी मृत्यु भएका तथा सम्पर्कविहीन आफ्ना पालिकावासीको खोज तथा उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपियाँ सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले बताउनुभयो।
भोटेकोशी गाउँपालिकाले रसुवा बाढीमा परी मृत्यु भएका तथा सम्पर्कविहीन आफ्ना पालिकावासीका प्रतिपरिवारलाई दुई लाख रुपियाँका दरले नगद राहत उपलब्ध गराउने भएको अध्यक्ष पासाङनृर्पु शेर्पाले जानकारी दिनुभयो। बाढीका कारण घरगुजारा चलाउन कठिनाइमा परेका पीडित परिवारलाई समेत नगद राहत उपलब्ध गराउने र खोज तथा उद्धारमा पालिका खटिरहेको उहाँले बताउनुभयो। उक्त पालिकाका ७३ जना बाढीपछि सम्पर्कविहीन छन्।
त्यस्तै, रसुवा बाढी प्रभावितको खोज तथा उद्धार र राहतका लागि पाँचपोखरी थाङपाल गाउँपालिकाले १२ लाख रुपियाँ तथा जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीलगायतको तीन दिनको तलब सहयोग गर्ने अध्यक्ष टासी लामाले बताउनुभयो।
इन्द्रावती गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपियाँ तथा कर्मचारी, जनप्रतिनिधिलगायतको एक दिनको तलब सहयोग गर्ने अध्यक्ष झम्कनाथ नेपालले जानकारी दिनुभयो।
बाह्रबिसे नगरपालिका–९, राम्चेका समाजसेवी उमेश सुवेदीले रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा व्यक्तिगत रूपमा एक लाख रुपियाँ सहयोग गर्नुभएको छ।