काठमाडौँ, भदौ १६ गते ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले विपत् तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि मनलाग्दी मूल्य तोक्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिनुभएको छ ।
सोमबार मन्त्रालयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँग भएको छलफलमा मन्त्री यादवले विपत्को समयमा बजारमा कृत्रिम मूल्यवृद्धि, कालोबजारी तथा उपभोक्ताको जीवनमाथि खेलबाड गर्ने गतिविधि कुनै पनि हालतमा सह्य नहुने बताउनुभएको हो ।
मन्त्री यादवले ठुलठुला व्यावसायिक गोदाममा नै गएर अनुगमन गर्न यादवले निर्देशन दिनुभएको छ । बाढीपहिरो तथा प्राकृतिक विपत्को अवस्था रहेकाले यही परिस्थितिको फाइदा उठाउँदै बजारमा मनलाग्दी मूल्य बढाउने प्रवृत्ति देखिन सक्ने भन्दै मन्त्री यादवले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।
बजार अनुगमनलाई विशेष प्राथमिकतासाथ अघि बढाउन मन्त्रालयले १६ वटा अनुगमन टोली गठन गरेको छ । ती टोलीले दैनिक रूपमा बजार अनुगमन गरी त्यसको प्रतिवेदन मन्त्री यादवसमक्ष बुझाउनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्री यादवले अनुगमनमा उपभोक्तामाथि ठगी, कालोबजारी वा अत्यधिक मूल्यवृद्धि गरेको पाइएमा कसैको दबाब वा पहुँचका आधारमा उन्मुक्ति नदिन निर्देशन दिनुभएको छ ।
कसैलाई ‘मेरो मान्छे हो’ भनेर जोगाउने प्रयास नगरी दोषी देखिए जोसुकैलाई समान रूपमा कानुनी कारबाहीको दायरामा ल्याउन मन्त्री यादवले निर्देशन दिनुभयो ।
छलफलमा मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले अनुगमनमा कर्मचारी अभाव भए थप जनशक्ति परिचालन गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । बजार अनुगमन औपचारिकतामा सीमित नभई परिणाममुखी हुनुपर्नेमा सचिवले जोड दिनुभयो ।