काठमाडौँ, भदौ १५ गते ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको आज निरीक्षण गर्नुहुने भएको छ । मन्त्री श्रेष्ठ आज नुवाकोट हुँदै रसुवामा अवस्थित जलविद्युत् आयोजना स्थल पुग्ने कार्यसूचीरहेको उहाँको सचिवालयले जनाएको छ ।
मन्त्रीको सचिवालयकाअनुसार स्थलमार्गबाट नुवाकोट पुगेर मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा उद्धार र राहतको अवस्थाबारे जानकारी लिनु हुनेछ । वत्ती नपुगेको ठाउँमा वैकल्पिक ऊर्जा सोलारको व्यवस्थापन उपायबारे छलफल गर्नुहुनेछ । मन्त्री श्रेष्ठ त्रिशुलीको बट्टारस्थित क्याम्पमा पुग्नुहुनेछ ।
सचिवालयका अनुसार मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत आजै रसुवा जानुहुनेछ । त्यहाँ जलविद्युत् आयोजनाको सुरुङमार्ग क्षेत्रमा भइरहेको उद्धारको अवस्था र कठिनाइ, क्षतिको विवरणबारे जानकारी लिनुहुनेछ । त्यहाँबाट फर्केर नुवाकोटस्थित नेपाली सेनाको एकीकृत उद्धार शिविरमा जानुहुने सचिवालयको भनाइ छ । शिविरमा उहाँले उद्धार र राहतको अवस्थाबारे जानकारी लिनुहुनेछ ।
नुवाकोटमै मन्त्री श्रेष्ठले सुरुङमार्गमा फसेका कमर्चारीहरुको परिवारसँग पनि भेट्ने कार्यक्रम रहेको छ । नुवाकोटमा मन्त्री श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको टिमसँग छलफल तथा आवश्यक सहजीकरण र निर्देशन दिने मन्त्रीको सचिवालयले जनाएको छ ।