बर्दिबास, भदौ १४ गते ।
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको प्रत्यक्ष असर पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति आयोजना (दोस्रो खण्ड) मा परेको छ । आयोजनामा कार्यरत करिब ४० प्रतिशत प्राविधिक कर्मचारी तथा मजदुरका परिवार बाढीबाट प्रभावित भएपछि कमला–बडहरी–फूलजोर–बागमती (७४.७५ किलोमिटर) पूर्वी खण्डको निर्माण कार्य सुस्त बनेको छ ।
आयोजनाको ठेकेदार कम्पनी ‘स्वेग–आरसीसी जेभी’का प्रोजेक्ट म्यानेजर सुबोध रिसालका अनुसार विपद्का कारण आयोजनामा कार्यरत करिब ४० प्रतिशत प्राविधिक कर्मचारी तथा मजदुर प्रभावित भएका छन् ।
आयोजनामा ४०० देखि ४५० जनासम्म कामदार तथा कर्मचारी कार्यरत छन् । तीमध्ये बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट, चितवन र धादिङ घर भएका एक सयभन्दा बढी कर्मचारीका परिवार विपद्को चपेटामा परेका छन् ।
प्रभावित हुनेमा आयोजनामा कार्यरत चालक, सहचालक, मेसिन अपरेटर, सुपरभाइजरलगायत करिब ४० प्रतिशत प्राविधिक कामदार छन् । उनीहरूमध्ये कतिपयको आफ्नै तथा कतिपयका आफन्तको घरपरिवार बाढीको विपदमा परेका छन् । धनमालको समेत व्यापक क्षति भएकाले ती कर्मचारी घर फर्किएपछि आयोजनामा अहिले कामदारको अभाव भएको रिसालले बताउनुभयो ।
‘हामीले बर्खामा पनि सुरक्षा सावधानी अपनाएर काम निरन्तर अगाडि बढाइरहेका थियौँ । तर, अकस्मात् आएको बाढीले जनशक्ति अभाव सिर्जना हुँदा कामको गति सुस्त बनेको छ । तथापि आयोजनाको काम पूर्ण रूपमा रोकिएको छैन,’ प्रोजेक्ट म्यानेजर रिसालले भन्नुभयो ।
हालसम्म बडहरी–फूलजोर र फूलजोर–बागमती खण्डका २४ वटा पुलमध्ये छवटाको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । प्रभावित कर्मचारी केही दिनभित्रै काममा फर्किने र त्यसपछि निर्माणले पुनः गति लिने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
विश्व बैंकको १८ अर्ब ६० करोड रुपियाँ ऋण सहयोगमा सञ्चालित यो आयोजना सन् २०२५ जनवरी १ देखि सुरु भएको हो । आयोजना सन् २०२७ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सडकको दायाँ–बायाँका रुख कटानमा ढिलाइ, विद्युत्का पोल सार्न प्राधिकरणको आनाकानी, इन्धनको मूल्यवृद्धि, बन्द–आन्दोलन तथा निर्माण सामग्रीको अभावका कारण सुरुदेखि नै आयोजनाले अपेक्षित गति लिन सकेको छैन ।
गौरीडाँडास्थित कमला–ढल्केवर–पथलैया सडक आयोजनाका प्रवक्ता एवं इन्जिनियर रामटहल यादवका अनुसार यस अवधिसम्म ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसक्नुपर्नेमा हालसम्म ३४ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । त्यसमाथि पछिल्लो समय कामदारका गाउँबस्तीमै बाढीको विपद् परेपछि निर्माण कार्य थप प्रभावित बनेको हो ।