नारायणगढ, भदौ १२ गते ।
भोटेकोशी नदीमा बुधवार आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग शुक्रवार पनि सञ्चालनमा आउन सकेन ।
त्रिशूली नदीमा बढेको पानीको बहावले राजमार्गमा लेदो जम्दा अहिले यातायात सञ्चालनमा समस्या परेको हो । पृथ्वी राजमार्गअन्तर्गत नौविसे–मुग्लिन सडक आयोजनाका इन्जिनियर राजिव मानन्धरका अनुसार धादिङको गलौंदीमा करिब दुईसय मिटर, गल्छीमा करिब एक किलोमिटर र घाटबेँसीको पोखरीभीरमा तीनसय मिटर सडक हिलाम्य भएर राजमार्ग अवरुद्ध भएको छ ।
हिलो लेदो सफा गर्ने प्रयास भइरहे पनि पूरा हुन नसकेको मानन्धरले जानकारी दिनुभयो । “हामीले शनिवारसम्म राजमार्ग खुलाउने गरी काम गरिरहेका छौँ” उहाँले भन्नुभयो ।
अवरुद्ध सडक क्षेत्रमा सरसफाइ तथा हिलो हटाउने काम भइरहेको छ । राजमार्ग सरसफाइका लागि अहिले गलौदी र पोखरीघाटमा ३ लोडर, २ स्काभेटर, ४ जीसिभी, १ बुलडोजर र चार टिप्पर परिचालन गरिएको छ भने गल्छीमा २ लोडर, २ स्काभेटर, २ जीसिभी र ४ टिप्पर परिचालन गरिएको सडक आयोजनाले जनाएको छ ।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि राजधानी काठमाडौँको तराईका जिल्ला तथा मध्यपहाडी सँगको सडक सम्पर्क प्रभावित भएको छ । पृथ्वी राजमार्ग हुँदै काठमाडौँतर्फ जाने खाद्यन्न, तरकारीलगायत दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत रोकिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यलय रामनगर चितवनका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डे काठमाडौँ जान विभिन्न समानहरु बोकेका पाँच सयभन्दा बढी ट्रक तथा लहरीहरु अहिले राजमार्गका विभिन्न क्षेत्रमा अलपत्र परेको बताउनुभयो । राजमार्गमा रहेका सवारी साधनलाई रामनगर, जुगेडी, कुरिनटार, फिस्लिङ्ग लगायत क्षेत्रमा रोकिएको उहाँले बताउनुभयो । अहिले पृथ्वी राजमार्ग अवरुद्ध हुदा राजधानी भित्रने र वाहिरिने सवारी साधन वढी समस्यामा छन् ।