alliance khabar

बुधबार, भाद्र १०, २०८३

काठमाडौँ, भदौ १० गते ।

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारको सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताउनुभएको छ।

देशवासीका नाममा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकलाई राज्यका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री शाहका अनुसार बाढीपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय परिषद्को बैठक तथा मन्त्रिपरिषद्को बैठक बसेर उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाउने निर्णय गरिएको छ।

उद्धार तथा खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको उहाँले बताउनुभएको छ। नेपाली सेनाका हेलिकप्टरमार्फत ठुलो संख्यामा नागरिकको हवाई उद्धार गरिएको तथा घाइतेलाई काठमाडौँ ल्याएर उपचारको व्यवस्था मिलाइएको सन्देशमा उल्लेख छ।

घाइतेको सहज र निःशुल्क उपचारका लागि काठमाडौँका प्रमुख अस्पताललाई तयारी अवस्थामा राखिएको जनाउँदै प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली, एम्बुलेन्स र आवश्यक स्वास्थ्य सामग्री परिचालन गरिएको बताउनुभएको छ । नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी लगायतका संस्थासँग समेत उद्धार तथा स्वास्थ्य सेवामा समन्वय भइरहेको उहाँले उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित नागरिकको जीवन रक्षा, बेपत्ताको खोजी, घाइतेको उपचार तथा विस्थापितलाई राहत उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । बेपत्ता नागरिकको खोजी कार्यलाई अझ तीव्र बनाउने तथा बाढीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन गरिने उहाँले बताउनुभएको छ।

नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङका विभिन्न स्थानीय तह तथा गोरखाका केही गाउँपालिका बाढीबाट बढी प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले ती क्षेत्रमा खाद्यन्न, स्वच्छ खानेपानी, औषधी तथा अस्थायी बसोबासको व्यवस्था तत्काल मिलाइने बताउनुभएको छ।

बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिइने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने उहाँले बताउनुभएको छ।

प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दै राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ उनीहरूको साथमा रहेको बताउनुभएको छ। उद्धार, उपचार, खानपान तथा बसोबासको जिम्मेवारी सरकारले लिने उहाँको भनाइ छ।

विपद्को यस घडीमा सामाजिक संघ संस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई राहत तथा उद्धार अभियानमा सहयोग गर्न प्रधानमन्त्री शाहले आह्वान गर्नुभएको छ। यसअघि पनि प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रका संघीय सांसदसँग छलफल गरी क्षति, उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिनुभएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ