काठमाडौँ, भदौ १० गते ।
वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘बाँचुन्जेल रक्तदान, मरणोपरान्त नेत्रदान’ अभियानको सद्भावना दूत घोषणा गरिएको छ । तेरापन्थ युवक परिषद्, काठमाडौँले सञ्चालन गर्दै आएको रक्तदान तथा नेत्रदानसम्बन्धी अभियानलाई थप प्रभावकारी र व्यापक बनाउने उद्देश्यले मह जोडीलाई सद्भावना दूत बनाइएको हो ।
परिषद्ले आयोजना गरेको कार्यक्रममा कलाकारद्वयलाई औपचारिक रूपमा अभियानको जिम्मेवारी प्रदान गरिएको थियो । सद्भावना दूत बनेपछि आचार्यले रक्तदान, नेत्रदानलगायत मानवीय सेवाका अभियानमा सहभागी हुन पाउनु आफ्ना लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न आफूहरूको आवाज र लोकप्रियतालाई प्रयोग गर्न सकिने बताउनुभयो ।
अर्का कलाकार श्रेष्ठले सामाजिक सेवाका क्षेत्रमा आफूहरू लामो समयदेखि जोडिँदै आएको बताउनुभयो । उहाँले मानवीय हितका यस्ता अभियानमा आगामी दिनमा समेत सव्रिmय रहने प्रतिबद्धता व्यक्त गर्दै राम्रो र सेवामूलक काममा सहभागी हुन पाउनु खुसीको विषय भएको बताउनुभयो ।
परिषद्का अध्यक्ष निश्चल लालबानीले मह जोडी जस्ता लोकप्रिय कलाकारको सहभागिताले रक्तदान र नेत्रदानसम्बन्धी जनचेतना विस्तारमा महìवपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले तेरापन्थ युवक परिषद्, काठमाडौँले विगत २५ वर्षदेखि सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो ।
उहाँले हालसम्म २५० भन्दा बढी रक्तदान शिविर सञ्चालन गर्नुका साथै १४ जनाको मरणोपरान्त नेत्रदानमा सहजीकरण र तीन बालबालिकाको कर्निया प्रत्यारोपणमा आर्थिक सहयोग गरिएको बताउनुभयो । उहाँले परिषद्ले अगस्ट २५ देखि सेप्टेम्बर ८ सम्म काठमाडौँसहित विभिन्न स्थानमा नेत्रदानसम्बन्धी जनचेतनामूलक कार्यव्रmम सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले विद्यालय तथा क्याम्पसमा अन्तव्रिर्mया, परिवार परामर्श, विशेषज्ञ संवाद, डिजिटल सचेतना र नेत्रदानी परिवार सम्मानलगायत कार्यक्रम गरिने बताउनुभयो ।
त्यसै गरी सेप्टेम्बर १७ देखि २३ सम्म हुने ‘रक्तदान कर्तव्य २०२६’ अभियानमा पनि परिषद्ले सहभागिता जनाउने भएको छ । उहाँले स्वस्थ नागरिकलाई नियमित रक्तदान गर्न तथा मरणोपरान्त नेत्रदानका लागि सङ्कल्प गर्न आग्रह गर्नुभयो ।