alliance khabar

आइतबार, भाद्र ०७, २०८३

सल्यान, भदौ ७ गते ।

 सल्यानमा स्क्रबटाइफस तथा ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ। जिल्लाको दार्मा गाउँपालिकामा पछिल्लो एक सातायता देखिएको संक्रमणका कारण एक जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढीमा स्क्रबटाइफस संक्रमण पुष्टि भएको छ।

दार्मा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार गाउँपालिका–५ निवासी ६९ वर्षीय तुलबहादुर खड्काको स्क्रबटाइफसका कारण मृत्यु भएको हो। ज्वरो आएपछि गरिएको स्वास्थ्य परीक्षणमा किटमार्फत स्क्रबटाइफस संक्रमण पुष्टि भएको थियो।

खड्कामा मधुमेहको समस्या समेत रहेको र फोक्सोमा पानी जमेको देखिएपछि चिकित्सकले थप उपचारका लागि रिफर गरेका थिए। उहाँलाई उपचारका लागि दाङ हुँदै नेपालगन्ज लगिएको थियो। उपचारपछि घर फर्कने क्रममा बाटोमै उहाँको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख बस्नेतले जानकारी दिनुभयो।

संक्रमणको अवस्था बढ्दै गएपछि शनिबार पनि एक जना बिरामीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको उहाँले बताउनुभयो। विशेषगरी गाउँपालिका–३ मा ज्वरो आएका अधिकांश बिरामीको परीक्षण गर्दा २५ जनाभन्दा बढीमा स्क्रबटाइफस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्य शाखा प्रमुख बस्नेतका अनुसार दैनिक ज्वरोका बिरामी बढिरहेका छन्। परीक्षण गरिएका बिरामीमध्ये दैनिक चारदेखि पाँच जनासम्ममा स्क्रबटाइफस पुष्टि भइरहेको छ। अन्य वडामा समेत व्यापक रूपमा परीक्षण गरिए थप संक्रमित भेटिन सक्ने अनुमान गरिएको छ।

“एक सातादेखि समस्या देखिएको छ। ज्वरोका बिरामी पनि बढिरहेका छन्। परीक्षण गर्दा दैनिक चार–पाँच जनामा स्क्रबटाइफस पुष्टि भइरहेको छ,” बस्नेतले भन्नुभयो।

समस्या जटिल बन्दै गएपछि संक्रमण नियन्त्रण, परीक्षण तथा उपचार व्यवस्थापनका लागि प्रदेश र सङ्घीय सरकारका सम्बन्धित निकायसँग सहयोग माग्ने तयारी भइरहेको उहाँले बताउनुभयो।

गत वर्ष पनि दार्मा गाउँपालिकामा स्क्रबटाइफसको संक्रमण व्यापक रूपमा फैलिएको थियो। गाउँपालिकाका अनुसार गत वर्ष पाँच सयभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो भने चार जनाको मृत्यु भएको थियो।

चिकित्सकका अनुसार स्क्रबटाइफस एक प्रकारको सरुवा रोग हो, जुन संक्रमित माइट (किर्नाजस्तो देखिने सूक्ष्म कीरा) को टोकाइबाट सर्ने गर्दछ। माइटमा पाइने ओरिएन्सिया सुसुगामुसी नामक जीवाणुका कारण यो संक्रमण हुने बताइन्छ। यस्ता माइटहरू प्रायः झाडी, खेतबारी, वनजंगल तथा घर वरपरका घाँस र झाडी भएका स्थानमा पाइन्छन्।

स्क्रबटाइफसबाट बच्न खेतबारी, वनजंगल वा झाडीमा जाँदा शरीर ढाकिने कपडा लगाउन तथा सम्भव भएसम्म बुट प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। साथै भुइँमा नबस्ने, अग्लो स्थानमा बस्ने वा सुत्ने तथा घर वरपरका झाडी र घाँस नियमित रूपमा सफा राख्न पनि आग्रह गरिएको छ।

स्वास्थ्यकर्मीहरूले चउर, घाँसे मैदान तथा झाडी भएका स्थानमा अनावश्यक रूपमा नबस्न र ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा परीक्षण गराउन सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ