alliance khabar

शुक्रबार, भाद्र ०५, २०८३

बनेपा, भदौ ५ गते  ।

काभ्रेको नगरकोटकामा कतिपय होटेलले सरकारी तथा सार्वजनिक जग्गा मिचेर होटेल, पार्किङलगायतका संरचना निर्माण गरेको गुनासो आएपछि मन्डनदेउपुर नगरपालिकाले नगरकोट क्षेत्रमा जग्गाको रेखाङ्कन सुरु गरेको छ ।

नगरपालिकाको आग्रहमा नापी कार्यालय काभ्रेपलाञ्चोकले प्राविधिक सहयोग उपलब्ध गराएपछि जग्गा रेखाङ्कनको काम अघि बढाइएको हो । नापी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख नापी अधिकृत अशोककुमार भुसालले नगरपालिकाको आग्रहपछि नगरकोट क्षेत्रको जग्गा रेखाङ्कनका लागि प्राविधिक टोली परिचालन गरिएको बताउनुभयो । उहाँका अनुसार नापी अधिकृत जयराम तामाङको नेतृत्वमा चार जना कर्मचारी खटाइएको छ ।

नगरकोट क्षेत्रमा नगरपालिकाको स्वामित्वमा रहेको जग्गा तथा होटेलले प्रयोग गरिरहेको जग्गाको यकिन कित्ता छुट्याउन नसक्दा नक्सा पास गर्न समस्या हुँदै आएको थियो । त्यसै गरी जग्गाको वास्तविक अवस्था यकिन नहुँदा राजस्व सङ्कलनमा समेत असर परेपछि नगरपालिकाले सरकारी, सार्वजनिक र होटेलले भोगचलन गरेका जग्गाको रेखाङ्कन गराउन पहल गरेको हो ।

प्रमुख नापी अधिकृत भुसालले गत जेठदेखि नै प्राविधिक टोली परिचालन गरी नगरकोट क्षेत्रमा अभियानका रूपमा जग्गा रेखाङ्कनको काम भइरहेको बताउनुभयो । “मन्डनदेउपुर नगरपालिकाको आग्रहपछि दैनिक पाँच जना प्राविधिक खटाएर नगरकोट क्षेत्रको सरकारी, सार्वजनिक र होटेलको जग्गा रेखाङ्कनको काम अघि बढाएका हौँ,” उहाँले भन्नुभयो । रेखाङ्कनका व्रmममा नापी कार्यालयका तीन जना र नगरपालिकाका दुई जना प्राविधिकसँगै स्थानीय जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी तथा प्रतिनिधि सहभागी हुँदै आएका छन् । जग्गाको रेखाङ्कनका लागि नियन्त्रण विन्दु (कन्ट्रोल पोइन्ट) स्थापना गरी त्यसैका आधारमा जग्गाको अवस्था यकिन गर्ने काम भइरहेको नापी कार्यालयले जनाएको छ ।

प्रमुख नापी अधिकृत भुसालका अनुसार रेखाङ्कनपछि होटेलहरूले आफ्नै जग्गामा संरचना निर्माण गरेका छन् वा सरकारी तथा सार्वजनिक जग्गामा संरचना बनाएका छन् भन्ने विषय स्पष्ट हुने छ । रेखाङ्कन टोलीको नेतृत्व गर्नुभएका नापी अधिकृत जयराम तामाङले २०३२ सालमा स्थापना गरिएका चौथो दर्जाका नियन्त्रण विन्दु, तेस्रो दर्जाको एउटा तथा पहिलो दर्जाको एउटा नियन्त्रण विन्दु र सोही वर्ष नापनक्सा गरिएको प्राकृतिक सीमालाई आधार बनाएर जग्गा रेखाङ्कन भइरहेको बताउनुभयो ।

आफ्नो पालिकाभित्रको जग्गाको यकिन तथ्याङ्क र अवस्था स्पष्ट नभएकै कारण मन्डनदेउपुर नगरपालिकाले लामो समयदेखि होटेलको नक्सा पाससमेत रोकेको थियो । नगरकोटका कतिपय होटेलले आफ्नो स्वामित्वको जग्गाभन्दा बाहिर सरकारी तथा सार्वजनिक जग्गामा होटेल, पार्किङलगायतका संरचना निर्माण गरी भोगचलन गर्दै आएको स्थानीयको गुनासो छ । अहिले भइरहेको रेखाङ्कनबाट होटेलले प्रयोग गरेको जग्गाको वास्तविक अवस्था तथा सरकारी र सार्वजनिक जग्गाको यकिन विवरण प्राप्त हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ