काठमाडौँ, भदौ ४ गते ।
१८७औँ विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) ले फोटो प्रदर्शनी आयोजना गरेको छ। हनुमानढोका परिसरमा आयोजित प्रदर्शनीमा नेपाली फोटो पत्रकारहरूले बुधबार चीन भ्रमणका क्रममा खिचेका चीनका सुन्दर तथा विविध पक्ष झल्काउने तस्बिरहरू प्रदर्शनमा राखिएका छन्।
प्रदर्शनीमा चीनको संस्कृति, परम्परा, पर्यटन, कला, साहित्य तथा जनजीवनलाई चित्रित गर्ने ५० वटा तस्बिर समावेश गरिएको छ।
चाइना कल्चर सेन्टरको सहकार्यमा आयोजित उक्त प्रदर्शनीले नेपाल–चीनबिचको पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान, फोटो पत्रकारिताको विकास तथा आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य लिएको आयोजकले जनाएको छ।
राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका महासचिव घनश्याम खड्काले विश्व फोटोग्राफी दिवसलाई अर्थपूर्ण बनाउन तथा फोटो पत्रकारिताको महत्त्व र योगदानलाई अझ स्पष्ट रूपमा प्रस्तुत गर्न यस्ता प्रदर्शनी आवश्यक रहेको बताउनुभयो।

