फिदिम, भदौ ४ गते ।
बाढीले अवरुद्ध बनाएको मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथरको दोभाने खोलामा स्थानीयवासीले काठेपुल निर्माण गरेपछि सवारीसाधन आवागमन सुचारु भएको छ।
पाँचथरको याङवरक गाउँपालिका–१ र २ तथा छिमेकी जिल्ला ताप्लेजुङका सादेवा र कालिखोलाका बासिन्दालाई थर्पु हुँदै सदरमुकामसम्म आवतजावतको सुविधा दिँदै आएको उक्त सडकखण्डको दोभाने खोलामा जेठ ८ गते आएको बाढीले डाइभर्सन बगाएपछि यातायात सेवा ठप्प भएको थियो।
यसअघि २०८० साल असार २ गते आएको बाढीले यहाँको पक्की मोटरेबल पुल बगाएको थियो। त्यसयता पटकपटक आउने बाढीले डाइभर्सन बगाउने समस्या दोहोरिँदै आएको थियो।
पछिल्लो पटक लामो समयसम्म सडक सञ्चालन हुन नसकेपछि स्थानीयवासीले काठेपुल निर्माण गर्ने निर्णय गरेका थिए। सोहीअनुसार याङवरक–१ का वडा सदस्य नरबहादुर गुरुङको संयोजकत्वमा बसेको स्थानीयवासीको भेलाले काठेपुल निर्माण गर्ने निर्णय गरेको थियो।
पुल निर्माणका लागि सिँचाइ विकास डिभिजन कार्यालयले ५० थान ग्याबिन जाली उपलब्ध गराएको थियो। उक्त जाली प्रयोग गरी खोलाको दुवै किनारमा ग्याबिन पर्खाल निर्माण गरिएको थियो। पर्खालमाथि चिलाउने, लप्सीलगायत स्थानीय रूपमा उपलब्ध बलिया काठ प्रयोग गरेर जिप, पिकअप र मोटरसाइकलसमेत सञ्चालन गर्न सकिने गरी पुल निर्माण गरिएको हो।
पुल निर्माणका लागि स्थानीयवासीले स्वस्फूर्त रूपमा आर्थिक सहयोगसमेत जुटाएको वडा सदस्य गुरुङले बताउनुभयो। उहाँका अनुसार एक सयभन्दा बढी स्थानीयवासीबाट करिब दुई लाख रुपियाँ सङ्कलन गरिएको थियो। आर्थिक सहयोग जुटाएका स्थानीयले निरन्तर श्रमदानसमेत गरेका थिए।
बाढीले डाइभर्सन बगाएपछि स्थानीय किसान बढी प्रभावित भएका थिए। कृषि उपज बजारसम्म पुर्याउन नसक्दा उत्पादन थन्किएको थियो। मोटरसाइकल भने झोलुङ्गे पुलबाट खोला पार गराइँदै आएको थियो।
काठेपुल बनेपछि याङवरक गाउँपालिकाको केन्द्र थर्पु र जिल्ला सदरमुकाम फिदिमसँगको सडक सम्पर्क पुनः जोडिएको छ। लामो समयपछि यातायात सञ्चालनमा आएपछि स्थानीयवासीले राहत महसुस गरेका छन्।
सडक सुचारु भएसँगै पाँचथर र ताप्लेजुङको सीमावर्ती तिम्बुङ पोखरीसम्म यात्रा गर्ने नागरिकलाई समेत सहज भएको स्थानीय वडाध्यक्ष देउकुमार राईले बताउनुभयो।