विराटनगर, भदौ ३ गते ।
कोशी प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत २३औँ बैठक ४३ दिनको अन्तरालपछि आज बुधबार दिउँसो १ बजे बस्दैछ । गत असार २४ गते बजेट पारित गरेपछि बैठक स्थगित गरिएको थियो । आजको बैठकमा सरकारले ‘दलित अधिकारसम्बन्धी विधेयक’ प्रदेशसभामा पेश गर्ने सम्भावना रहेको छ । यद्यपि, कार्यव्यवस्था परामर्श समितिबाट अन्तिम कार्यसूची पारित हुन बाँकी छ ।
सत्ता समीकरणमा आएको फेरबदलसँगै आजको बैठकबाट नेपाली कांग्रेस विपक्षी बेञ्चमा बस्नेछ भने विगत दुई वर्षभन्दा बढी समयदेखि प्रतिपक्षमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्ता पक्षको बेञ्चमा आसिन हुनेछ ।
नयाँ सत्ता गठबन्धन निर्माणका क्रममा नेकपाले उक्त विधेयक सभामा अगाडि बढाउनुपर्ने शर्त राखेको थियो । सोही शर्तमा मुख्यमन्त्री सहमत भएपछि मन्त्रिपरिषद् बैठकले विधेयक दर्ता गर्ने निर्णय गरेको थियो ।
पहिचान पक्षधरहरूको आन्दोलनका क्रममा कोशी प्रदेशसभाको सभाहल आगजनीबाट ध्वस्त भएपछि विराटनगर महानगरपालिकासँगको सहकार्यमा वीरेन्द्र सभागृह भाडामा लिएर प्रदेशसभाको बैठक सञ्चालन हुँदै आएको थियो ।
आजदेखि भने कटहरी गाउँपालिका–१ स्थित फलफूल तथा तरकारी थोक तथा खुद्रा बजारको पुरानो संरचना मर्मत गरी तयार पारिएको अस्थायी सभाहलमा प्रदेशसभा बैठक सञ्चालन गरिनेछ । उक्त परिसरमा संसदीय दलका कार्यालय, प्रदेशसभा सचिवालय, प्रदेशसभा हल, सुरक्षा गृह तथा चमेनागृहसमेत निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।