सुलीकोट, भदौ २ गते ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ दोभान र वडा नं. १ हुल्चुक जोड्ने बुढीगण्डकी नदीमाथि बेलिब्रिज निर्माण भएपछि स्थानीयवासीको यात्रा सहज भएको छ। दोभान खोला जलविद्युत् आयोजनाले बुढीगण्डकी नदीमाथि करिब ४२ मिटर लामो बेलिब्रिज निर्माण गरेको हो। पुल निर्माणसँगै आयोजनाको काममा सहजता हुनुका साथै स्थानीयवासीको आवतजावत पनि सुगम भएको छ।
धार्चे गाउँपालिका–१ का वडाध्यक्ष रामसिंह गुरुङले भन्नुभयो, “पुल निर्माणको काम गत फागुनदेखि तीव्र रूपमा अघि बढाइएको थियो। अहिले बेलिब्रिज जडानको काम सम्पन्न भएसँगै पहिलो पटक हुल्चुकसम्म सवारीसाधन पुग्ने भएका छन्।”
बेलिब्रिज निर्माणपछि हुल्चुकमा पहिलो पटक सवारीसाधन पुग्ने भएपछि स्थानीयवासी उत्साहित भएका छन्। अहिलेसम्म हुल्चुकमा सामान ढुवानीका लागि खच्चड प्रयोग गर्नुपर्दा दोब्बर भाडा तिर्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष गुरुङले बताउनुभयो।
धार्चे गाउँपालिकाका अन्य सबै वडामा सडक पुगे पनि पुल अभावका कारण हुल्चुकमा मोटर यातायात पुग्न सकेको थिएन। पुल सञ्चालनमा आएपछि गाउँपालिकाका सबै वडामा यातायातको पहुँच विस्तार भएको गाउँपालिकाले जनाएको छ।
यातायात सुविधा नहुँदा हुल्चुकवासीले दैनिक उपभोग्य वस्तु महँगो मूल्यमा खरिद गर्नुपर्ने अवस्था थियो। दोभानसम्म बजार मूल्यमा सामान पुगे पनि त्यहाँबाट हुल्चुकसम्म पुर्याउन खच्चडमार्फत प्रतिकेजी पाँच रुपियाँसम्म अतिरिक्त ढुवानी खर्च तिर्नुपरेको स्थानीयले बताएका छन्। पुल सञ्चालनमा आएपछि खाद्यान्न तथा अन्य सामग्री बजार मूल्यमा नै सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
वडाध्यक्ष गुरुङले पुल हुल्चुकवासीको लामो समयदेखिको आवश्यकता रहेको बताउनुभयो। उहाँका अनुसार पुल निर्माणले जलविद्युत् आयोजनाको कामलाई समेत गति दिनेछ भने स्थानीय जनताको दैनिकीमा प्रत्यक्ष राहत पुग्नेछ।
आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत करिब पाँच करोड रुपियाँ लागतमा निर्माण गरिएको यो बेलिब्रिजले हुल्चुकको यातायात, व्यापार तथा जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने स्थानीयको विश्वास छ।