मकवानपुर, साउन २८ गते ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश सरकारले युवाको सुझावका आधारमा प्रदेशका योजना र कार्ययोजना बनाएर कार्यान्वयन गर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार हेटौँडामा आयोजना गरेको सङ्घीयता सचेतना तथा युवा संवाद कार्यक्रममा बोल्दै मन्त्री तामाङले प्रदेश सरकारले युवालक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले संविधान र सङ्घीयताका बारे युवा जानकार हुनुपर्ने भन्दै अहिलेको संविधान जनताका प्रतिनिधिले बनाएको संविधान हो र संविधानले सबै वर्ग, लिङ्ग र समुदायलाई समेटेको बताउनुभयो । “संविधान ढुङ्गाले लेखेको अक्षर होइन, मूलभूत आधारभूत कुरा परिवर्तन नगरे पनि संविधानमा संशोधन गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “युवाको दृष्टि र विचार कार्ययोजनालाई सरकारका कार्ययोजनामा समावेश गर्न पनि छलफल गरिएको हो । युवाबाट पनि सुझाव लिएर सरकारले काम गर्छ ।”
जेनजी आन्दोलनपछि नयाँ सोचको कुरा आएको छ, सबै नयाँले मात्र गरेर हुने हो त भनी प्रश्न गर्दै उहाँले पुरानाले पनि धेरै काम गरेको अझै धेरै गर्न बाँकी रहेको बताउनुभयो । उहाँले कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा के गर्न सकिन्छ त्यसको सुझाव माग्नुभयो । संविधान सभाका सदस्य प्रह्लाद लामिछाने, राष्ट्रिय सभाका पूर्वसदस्य डा. खिमलाल देवकोटा, बागमती प्रदेशका पूर्वमन्त्री रचना खड्काले सङ्घीयताले दिएको अवसर, तीन तहका सरकारबिचको समन्वय र सहकार्य, सङ्घीयतामा विकास र जनसहभागिता, नागरिकका अधिकारलगायतका बारेमा धारणा राख्दै कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।