धनगढी, साउन २८ गते ।
बहुमत गुमाएको एक महिना पुग्न लागेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ । उहाँले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेश सभालाई पत्र पठाएपछि ५ बजे सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो ।
मुख्यमन्त्रीले विश्वासको मत लिने वा राजीनामा गर्ने विषयमा छलफलका लागि कांग्रेस संसदीय दलको बैठक बुधबार बसेको थियो । सो बैठक बिहीबार ३ बजे पुनः बस्ने गरी स्थगित भएको जनाइएको छ ।
नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एमालेले असार ३१ गते फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । सत्ता साझेदार दलले साथ छोडेपछि सरकारले एक महिनाभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ । सो अवधि बिहीबार पूरा हुँदै छ ।
सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार बनाउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्छ । नेपाली कांग्रेसका १८ जना प्रदेश सभा सदस्य रहेका छन् ।
यो प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा नयाँ सरकार बनाउनका लागि सो पार्टी र एमालेबिच यसअघि नै सहमति भइसकेको छ । प्रदेश सभामा नेकपाका २१ र एमालेका ११ जना प्रदेश सभा सदस्य रहेकाले सरकार बनाउनका लागि बहुमत पुगेको छ । नेकपाका एक प्रदेश सभा सदस्य भने निलम्बित हुनुभएको छ ।
मुख्यमन्त्रीले राजीनामा दिने वा विश्वासको मत लिने दुइटै उहाँलाई संविधानले दिएको अधिकार रहेको नेकपाले जनाएको छ । सो पार्टीका प्रदेश सभा सदस्य मानबहादुर धामीले बहुमत नपुग्ने भएकाले मुख्यमन्त्रीले राजीनामा पनि दिन सक्ने बताउनुभयो । धामीले भन्नुभयो, “यद्यपि दुवै उहाँको अधिकारको कुरा हो ।”
मुख्यमन्त्रीको बिहीबार राजीनामा आएमा नयाँ मुख्यमन्त्री सो दिन नै नियुक्त हुने धामीको भनाइ छ । नेकपा र एमालेबिच भएको सहमति अनुसार यस प्रदेशमा अबको मुख्यमन्त्री नेकपाका खगराज भट्ट बन्दै हुनुहुन्छ ।