किन्शासा(कङ्गो), साउन २७ गते ।
लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमणको कारण दुई हजारभन्दा बढीको मृत्यु भएको जनाइएको छ । यसको प्रकोप तीन महिना पहिले घोषणा गरिएको थियो ।
अल जजिराले आधिकारिक सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै पछिल्लो तीन हप्तामा कम्तिमा एक हजार जनाको मृत्यु भएको जनाएको छ भने भाइरस खतरनाक दरमा फैलिरहेको उल्लेख गरेको छ । मङ्गलबारसम्म कङ्गोका पाँच प्रान्तमा चार हजार ३८१ जनामा इबोला सङ्क्रमण पुष्टि भएकोमा दुई हजार ११ जनाको मृत्यु भएको जनाइएको छ ।
महामारीको तीव्र गतिमा बढिरहेको छ भने अन्तर्राष्ट्रिय अधिकारीले सङ्क्रमण नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपिल गरेका छन् । संयुक्त राष्ट्र सङ्घीय आपतकालीन राहत संयोजकद्वारा नियुक्त वरिष्ठ इबोला संयोजक जुलियन हार्नेसले सामाजिक सञ्जाल एक्समा सङ्क्रमणका कारण बढ्दो मानव मृत्युलाई प्रष्ट पार्नुभएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पूर्वाधार सुदृढीकरण गर्न, लिटामा डब्ल्यूएचओद्वारा निर्मित उपचार केन्द्रको विस्तार भइरहेको घोषणा गरेको छ । यो प्रयासलाई युनिसेफ, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लगायत मानवीय साझेदारसँगै स्वास्थ्य मन्त्रालयले समर्थन गरेको जनाइएको छ ।
गत हप्ता, रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्र (अफ्रिका सीडीसी) र डब्ल्यूएचओले संयुक्त रूपमा डीआरसीमा समुदाय नेतृत्वको प्रतिक्रियाको तत्काल विस्तारको लागि आह्वान गरेका थिए । डब्ल्यूएचओका अनुसार अगस्ट ४-५ मा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस, अफ्रिका सीडीसीका महानिर्देशक जीन कासेया र अफ्रिकाका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीको नेतृत्वमा युगान्डा र डीआरसीको संयुक्त उच्चस्तरीय मिसन पछि यो प्रयास भएको जनाइएको छ ।
इबोला रोग एक भाइरल रक्तस्रावी ज्वरो हो जुन इबोला भाइरसको बुन्डिबुग्यो भाइरस स्ट्रेनको सङ्क्रमणबाट हुन्छ । यो उच्च मृत्युदर भएको गम्भीर रोग भएको जनाइएको छ हालसम्म बुन्डिबुग्यो भाइरसले गर्दा हुने इबोला रोगलाई रोक्न वा उपचार गर्न कुनै खोप वा विशेष उपचार स्वीकृत गरिएको छैन ।