पर्वत, साउन २७ गते ।
पर्वतमा यस वर्ष ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाको मुख्य खाद्यान्न बालीका रूपमा रहेको धान खेतीका लागि लक्ष्य निर्धारण गरिएको क्षेत्रफलमध्ये पाँच प्रतिशतमा रोपाइँ हुन नसकेको कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।
समयमै मनसुन सक्रिय नहुनु, पर्याप्त वर्षा नहुनु, कृषिजन्य जनशक्तिको अभाव तथा धान खेतीप्रतिको घट्दो आकर्षणका कारण पाँच प्रतिशत खेतमा रोपाइँ हुन नसकेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार साउनको अन्तिम सातासम्म जिल्लाभर करिब छ हजार ८०२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । यस वर्ष सात हजार १६० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको भए पनि लक्ष्यभन्दा कम क्षेत्रफलमा मात्र रोपाइँ भएको हो ।
स्थानीय तहअनुसार कुश्मा नगरपालिकामा ९३ प्रतिशत, फलेवास नगरपालिकामा ९४ प्रतिशत, जलजला गाउँपालिकामा ९५ प्रतिशत, महाशिला गाउँपालिकामा ९५ प्रतिशत, बिहादी गाउँपालिकामा ९५ प्रतिशत तथा पैयुँ गाउँपालिकामा ९८ प्रतिशत रोपाइँ भएको छ । मोदी गाउँपालिकामा भने शतप्रतिशत रोपाइँ सम्पन्न भएको कार्यालयले जनाएको छ ।
कृषि विकास कार्यालयकी बाली संरक्षण अधिकृत सोविता सुवेदीका अनुसार सिँचाइ सुविधा भएका तथा खोलानालाको पहुँचमा रहेका क्षेत्रमा असारको तेस्रो साताभित्रै अधिकांश रोपाइँ सकिएको थियो । तर, मनसुन कमजोर रहेकाले पाङ, नाङलीवाङ, कटुवाचौपारीलगायतका मुख्य धान उत्पादन क्षेत्रका केही किसानले रोपाइँ गर्न सकेनन् ।
फलेवास, पैयुँ, बिहादी र कुश्माका केही स्थानमा छिटफुट रूपमा रोपाइँ बाँकी रहे पनि अब ती खेत बाँझै रहने सम्भावना रहेको कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लाको कुल धान खेतीयोग्य क्षेत्रफलमध्ये करिब ४० प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको छ । उपलब्ध सिँचाइ प्रणालीबाट समेत वर्षभर पर्याप्त पानी नपुग्ने समस्या रहेको छ । गत वर्ष पर्वतमा करिब २४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
फलेवास नगरपालिका, पैयुँ गाउँपालिका, जलजला गाउँपालिका र कुश्मा नगरपालिका जिल्लाका प्रमुख धान उत्पादन क्षेत्र हुन् । यहाँ सावित्री, रामधान, मनसुली, जेठोबुढो, युएस, हर्दिनाथ, अनदी, कालो मसिनो, च्याम्पियन, माछापुच्छ्रे, सुगन्ध तथा विभिन्न हाइब्रिड जातका धान खेती हुँदै आएको छ ।