रेसुङ्गा (गुल्मी), साउन २६ गते ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको श्रावण कृष्ण औँसी (पोखरी औँसी) का अवसरमा एक दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाका अनुसार साउन २७ गते बुधबार गाउँ कार्यपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय, स्वास्थ्य, संस्था, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र अन्य संघ–संस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनुभयो ।
रुरुक्षेत्र गाउँपालिकाको पवित्र श्रृङ्गेश्वर तपोभूमि धाम क्षेत्रमा श्रावण कृष्ण औँसीका दिन परापूर्वकालदेखिनै पोखरी स्नान, भजनकीर्तन लगायत विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि हुँदै आएका छन् । यस दिन उक्त क्षेत्रमा ठुलो धार्मिक मेला समेत लाग्ने गर्दछ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस पर्वलाई थप व्यवस्थित गर्दै रुरु क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्व उजागर र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।
अहिले श्रृङ्गेश्वरधामको महिमा उजागर गर्न ‘दिव्य शृङ्गेश्वर मौन पुष्करिणी स्नान महोत्सव’ आयोजना गरिएको छ । उक्त महोत्सव भदौ १ गतेसम्म सञ्चालन हुनेछ । एक हजार १११ भक्त, १०८ जल र १०८ जडीबुटीको संयोजनसहित आस्था, आर्युवेद, मौन र अद्वितीय महादिव्यका रूपमा महोत्सवको आयोजना गरिएको शृङ्गेश्वर तपोभूमिधाम क्षेत्र संरक्षण तथा व्यवस्थापन समिति रुरुक्षेत्र गाउँपालिका–४ का अध्यक्ष चुरामणि ज्ञवालीले बताउनुभयो ।
शृङ्गेश्वर तपोभूमि धामका पण्डित उपेन्द्र न्यौपानेले महोत्सवमा दैनिक शिव महिमा प्रवचन, मौन र पुष्करिणी स्नान महत्त्व, श्रावणीको महिमा, देवलीला प्रस्तुति, ख्यातिप्राप्त कलाकारद्वारा भक्तिसङ्गीत भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार शृङ्गेश्वरधाम त्रेतायुगमा महर्षि शृङ्गले कठोर तपस्या गरेको पवित्र स्थलका रूपमा परिचित छ । न्यौपानेले भन्नुभयो,“शृङ्गेश्वर क्षेत्र मौन पुष्करिणी, प्राकृतिक गुफा, कालीगण्डकीसँग जोडिएको धार्मिक आस्था तथा ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वका कारण उजागर गर्न खोजिएको छ ।”