लमजुङ, साउन २६ गते ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका–८, भुलभुलेमा रहेको हामखोला झरनामा रमाउने पर्यटकको घुइँचो नै लागेको छ । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्ने हामखोलामा भएको छैटौँ हामखोला महोत्सवले विशेषतः यो झरना केन्द्रविन्दुमा रहेको थियो । यस झरनाले स्थानीय र पर्यटकलाई मन्त्रमुग्ध बनायो ।
गण्डकी प्रदेश पर्यटन तथा उद्योगमन्त्री यशोदा रिमालले महोत्सवको उद्घाटन गर्दै हामखोला जस्ता प्राकृतिक सम्पदालाई स्थानीय अर्थतन्त्र र पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय संस्कृति, प्रकृति र मौलिकतालाई संरक्षण गर्दै पर्यटकीय गतिविधि विस्तार गर्न सके गाउँमै रोजगारी र आम्दानीका अवसर सिर्जना हुने धारणा राख्नुभयो ।
महोत्सव स्थानीय बासिन्दाका लागि आफ्नै गाउँको प्राकृतिक सम्पदालाई चिनाउने र बाहिरबाट आउने पाहुनाका लागि नयाँ गन्तव्यको अनुभव गर्ने अवसर बनेको छ । झरनाको छङछङ आवाज, आसपासको हरियाली र सांस्कृतिक प्रस्तुतिले दुई दिन हामखोलालाई उत्सवमय बनायो । पर्यटकको रोजाइमा परेको यस झरनाको थप प्रचारप्रसार गर्नका लागि महोत्सव फलदायी भएको आयोजक हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष अशोक वाइबाले बताउनुभयो ।
महोत्सवले सांस्कृतिक कार्यक्रमको मनोरञ्जन मात्र दिएन, मस्र्याङ्दी गाउँपालिकाभित्र रहेका नयाँ पर्यटकीय गन्तव्यको चिनारीसमेत गराएको थियो । मस्र्याङ्दी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा भएको दुईदिने महोत्सवमा स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारसम्मको प्रस्तुतिले दर्शकलाई आकर्षित गरेको थियो । महोत्सवमा गायक राजु परियार र गायिका शिला आलेले प्रस्तुति दिनुभएको थियो । मस्र्याङ्दी गाउँपालिकाका स्थानीय कलाकार प्रितम गुरुङ, रन्जित गुरुङ, लक्षु घलेलगायतको पनि महोत्सवमा प्रस्तुति रहेको थियो ।