सल्यान, साउन २३ गते ।
सल्यानको कपुरकोट गाउँपालिकाका नागरिकले आफ्नै गाउँघरमा विशेषज्ञ आँखा स्वास्थ्य सेवा पाएका छन् । गाउँपालिकामै निःशुल्क आँखा परीक्षण, शल्यक्रिया तथा चश्मा वितरण गर्ने उद्देश्यले सञ्चालित शिविरको पहिलो दिन शुक्रबार २९० जना नागरिकले सेवा लिएका छन् ।
कपुरकोट गाउँपालिकाको आयोजना तथा राप्ती आँखा अस्पताल, तुलसीपुर, दाङको प्राविधिक सहयोगमा वडा नं. ५ स्थित रिम स्वास्थ्य चौकीमा शुक्रबार आयोजित शिविरमा १६९ पुरुष र १२१ महिला गरी २९० जनाले आँखा परीक्षण गराएका छन् । नेत्र सहायक सुरुची बुढाथोकीको नेतृत्वमा रहेको प्राविधिक टोलीले बिरामीको आँखा परीक्षण गरिरहेको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास हमालका अनुसार पहिलो दिनको शिविरमा २६ जनामा मोतिबिन्दुको समस्या पहिचान भएको छ भने ६० जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ । त्यसैगरी १७० जनाको सामान्य आँखा परीक्षण गरिएको छ भने जटिल समस्या देखिएका ३४ जनालाई थप उपचारका लागि प्रेषण गरिएको उहाँले जानकारी दिनुभयो ।
शनिबार वडा नं. २ स्थित गर्पा स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ । दुवै शिविरमा मोतिबिन्दुको समस्या पहिचान भएका तथा पालिकाभित्रका अन्य मोतिबिन्दुका बिरामीका लागि आइतबार साउन २४ गते कपुरकोट आधारभूत अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ ।
शल्यक्रियापछि बिरामीलाई आवश्यक पर्ने कालो चश्मा र औषधीसमेत गाउँपालिकामै पूर्ण रूपमा निःशुल्क वितरण गरिने स्वास्थ्य शाखा प्रमुख हमालले जानकारी दिनुभयो ।
विगतमा आँखाको सामान्य परीक्षण तथा मोतिबिन्दुको शल्यक्रियाका लागि जिल्ला बाहिर वा दाङको तुलसीपुरसम्म धाउनुपर्ने बाध्यता भोग्दै आएका स्थानीय आफ्नै पालिकामा विशेषज्ञ सेवा, निःशुल्क शल्यक्रिया र चश्मा पाउँदा खुसी भएका छन् । गाउँपालिकाले आफ्ना नागरिकलाई घरदैलोमै सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिअनुसार यो अभियान सञ्चालन गरेको जनाएको छ ।