सुलीकोट, साउन ६ गते ।
उत्तरी गोरखाको आरुघाट–माछीखोला सडक खण्डअन्तर्गत धार्चे गाउँपालिका–७ लिदिङस्थित सडकमा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
केही दिनदेखि परेको निरन्तर वर्षाका कारण मङ्गलबार साँझ करिब ६ बजे धार्चे गाउँपालिका–७ मा ठुलो पहिरो खसेपछि सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो।
“माथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ,” अध्यक्ष गुरुङले भन्नुभयो, “निरन्तरको वर्षा र सडक माथिबाट झरेका ठुला ढुङ्गा तथा लेदोसहितको पहिरोका कारण सडक सञ्चालन गर्न अझै केही दिन लाग्न सक्छ।”
सडकमा ठुलो पहिरो खसेर थुप्रिएपछि उत्तरी गोरखा जाने सवारीसाधन तथा यात्रुसिबच बाटोमै रोकिएका छन्। पहिरो हटाउन गाउँपालिकाले जेसिबी घटनास्थलतर्फ पठाउने तयारी गरेको जनाएको छ।
उत्तरी गोरखा पुग्ने मुख्य सडक भएकाले नागरिकको सहज यात्राका लागि तत्काल जेसिबी प्रयोग गरेर भए पनि सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको अध्यक्ष गुरुङले बताउनुभयो।
पहिरोमा परी कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। पहिरोको खबर प्राप्त हुनासाथ प्रहरी चौकी आर्खेतबाट प्रहरी सहायक निरीक्षक मोहनबहादुर घिमिरेको नेतृत्वमा टोली परिचालन गरी आवतजावतमा निगरानी बढाइएको छ। उक्त पहिरोस्थल आर्खेतबाट करिब आठ किलोमिटर उत्तरमा पर्छ।
उत्तरी गोरखामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढिरहेका बेला सडक अवरुद्ध हुँदा स्थानीय होटल व्यवसायी तथा व्यापारीले अत्यावश्यक सामग्री ढुवानी प्रभावित भएको भन्दै तत्काल सडक खुलाउन माग गरेका छन्।
गोरखा सदरमुकाम हुँदै मनास्लु क्षेत्र र लार्केपास जाने मुख्य मार्ग भएकाले सडक अवरुद्ध हुँदा पर्यटक आगमनमा समेत असर पर्ने देखिएको छ। धार्चे गाउँपालिकाले दुई वटा स्काभेटर प्रयोग गरी सकेसम्म छिटो सडक सञ्चालनमा ल्याउने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले जानकारी दिनुभयो।