
मकवानपुर, असार २१ गते ।
बागमती प्रदेश सभाबाट बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएको छ ।
प्रदेश सभाको शनिबार बसेको बैठकबाट बजेट पारित भएसँगै प्रदेश सरकारलाई आव २०८३/८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट आगामी साउन १ गतेदेखि खर्च गर्ने बाटो खुलेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश सभाको बैठकमा पेस गर्नुभएको विनियोजन विधेयक २०८३ बहुमतले र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८३ सर्वसम्मति रूपमा स्वीकृत भएको हो ।
प्रदेश सभा बैठकको अध्यक्षता गरेका उपसभामुख अप्सरा चापागाईंले विनियोजन विधेयक २०८३ बहुमतले र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८३ सर्वसम्मतिले स्वीकृत भएको जानकारी दिनुभएको थियो । यसअघि विधेयकमाथि भएको छलफलमा प्रदेश सभाका सदस्यले आआफ्ना धारणा राख्नुभएको थियो । मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको जवाफ आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङलगायतका मन्त्रीले दिनुभएको थियो । प्रदेश सभाका सदस्य ईश्वर सापकोटा, सिर्जना सायजू र रत्नप्रसाद ढकालले राख्नुभएको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
आगामी आवको नीति तथा कार्यव्रmम कार्यान्वयन गर्न ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपियाँ विनियोजन गरिएको छ । विनियोजित बजेटको चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार अर्थात् ३४.३१ प्रतिशत र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख तीन हजार अर्थात् ६५.६९ प्रतिशत रहेको छ ।
कुल विनियोजन भएको बजेटमध्ये ३८.६० प्रतिशत चालुतर्फ र पुँजीगत ६१.४० प्रतिशत रहेको छ । आगामी आवको बजेटको खर्च बेहोर्ने स्रोतमा कर राजस्वबाट ३० अर्ब १५ करोड छ लाख ६८ हजार, अन्य राजस्वबाट सात अर्ब ९३ करोड ९९ लाख १२ हजार, सङ्घीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ३१ करोड ४८ लाख र चालु आवको अनुमानित सञ्चित कोष र विविधबाट १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार र अन्य संस्थाबाट ऋण लगानी फिर्ताबाट ९६ करोड रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । चालु आवका लागि विनियोजित बजेटमध्ये ७१ प्रतिशत अर्थात् ४७ अर्ब ९१ करोड १८ लाख ७६ हजार खर्च हुने अनुमान गरिएको छ । चालु आवको बजेट ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपियाँ बराबर रहेको छ ।