दाङ, असार १५ गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको आधुनिकीकरण, धान उत्पादन वृद्धि र खाद्य आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
२३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को अवसरमा शुभकामना जारी गर्दै मुख्यमन्त्री आचार्यले ‘जलवायूमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारालाई व्यवहारमा उतार्दै कृषि उत्पादन र उत्पादकत्व बढाउने दिशामा प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभएको हो ।
नेपालको अर्थतन्त्र, खाद्य सुरक्षा, रोजगारी र ग्रामीण जीवनको प्रमुख आधार धान खेती भएकाले यसलाई आधुनिक, व्यवसायिक तथा जलवायूमैत्री बनाउनु समयको आवश्यकता भएको उल्लख गर्नुभएको छ । बदलिँदो जलवायु र मौसमको अनिश्चितताबीच नवीन प्रविधिको प्रयोग, वैज्ञानिक खेती प्रणाली तथा प्रभावकारी व्यवस्थापनमार्फत उत्पादन वृद्धि गर्न सकिने उहाँको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिँदै यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरणलाई प्राथमिकतामा राखेको बताउनुभयो । साना तथा सीमान्तकृत किसानलाई विशेष प्राथमिकता दिँदै कृषि उत्पादन वृद्धि, खेतियोग्य जमिनको सदुपयोग, सिँचाइ सुविधाको विस्तार तथा समयमै गुणस्तरीय बीउ र मल उपलब्ध गराउन संघ सरकार, स्थानीय तह र सम्बन्धित निकायसँग प्रभावकारी समन्वय र सहकार्य भइरहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
प्रविधिमैत्री खेती प्रणालीको विस्तार र उत्पादनसँगै मूल्य शृङ्खलाको विकासमार्फत कृषिलाई सम्मानित, मर्यादित र लाभदायक पेशाका रूपमा स्थापित गर्न प्रदेश सरकार निरन्तर लागिपरेको उहाँले बताउनुभयो ।
