ललितपुर, असार १४ गते ।
नेपाली कांग्रेसले १८ वर्ष पूरा भएका नागरिकले मात्रै पार्टीको क्रियाशील सदस्यता लिन सक्ने अवसर र जिम्मेवारी प्राप्त गर्न सक्ने प्रस्ट पारेको छ । कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बाल अधिकार उपसमितिले अपिल जारी गर्दै सिद्धान्त र नीतिप्रति प्रतिबद्ध नागरिक कांग्रेसको क्रियाशील सदस्य बन्न पाउने र उमेर १८ वर्ष पूरा भएको हुनुपर्ने प्रस्ट पारेको हो ।
उपसमिति संयोजक उमङ्ग लोहनीले अपिलमा उमेरसँग सम्बन्धित यो प्रावधान पार्टीको वैधानिक दृष्टि मात्रै नभएर मुलुकको कानुन र संविधानको मर्म भएको बताउनुभएको छ । उहाँले पार्टी सदस्य सङ्ख्या धेरै देखाउने अर्थहीन होड गरेर एकातर्फ बालबालिकाको बालापन खोस्ने तथा अर्कातर्फ कानुन र संविधानविपरीत कार्य गर्ने गलत प्रवृत्ति देशभर कहीँ पनि प्रस्तुत हुन नदिन पार्टीको सबै तहलाई सार्वजनिक रूपमा आह्वान गर्नुभएको छ ।
उहाँले कांग्रेसले डिजिटल प्रणालीमार्फत सुरु गरेको नयाँ क्रियाशील सदस्यता लिन इच्छुक व्यक्तिले असार २० गतेसम्म पार्टीको आधिकारिक पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्ने बताउनुभएको छ । उहाँले प्रचलित कानुन र अभिसन्धिको पालना एवं रक्षा गर्नु सत्ता र प्रतिपक्ष सबैको साझा दायित्व र साझा जिम्मेवारी भएको बताउनुभएको छ ।