कावासोती, जेठ २७ गते ।
पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ का स्थानीयले श्रमदानमार्फत बर्सौंदेखि भत्किएर सञ्चालनमा नआएको पुरानो सडक मर्मत र सम्भार गरी सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् ।
गाउँमा रहेका १२ वटा कच्ची सडक पुरानो र जीर्ण अवस्थामा छन् । यतिबेला स्थानीय श्रमदानबाटै छरछरे, गोडडाँडा, राम्कोट बोझा र भागबारी टाँडी मोटरबाटाको मर्मतसम्भार हुन लागेको बुलिङटार–२ का स्थानीय बेलबहादुर रानामगरले बताउनुभयो । साँघुरो सडक, ठाउँ ठाउँमा भत्किएको र कसैबाट पनि सहयोग नपाएपछि अहिले २३ किलोमिटरको सो कच्ची सडक मर्मत गर्न गाउँले लागिपरेको रानामगरले बताउनुभयो ।
सधैँ अर्कोको मुख ताक्नुभन्दा आफैँ श्रमदान गरेर वडा कार्यालयसम्मको सडक मर्मतको काममा स्थानीय जुटेको बुलिङटार–२ का वडा सदस्य वीरबहादुर रानामगरले बताउनुभयो । कुनै तहबाट सहयोग नपाएपछि १६५ घरका बासिन्दाले आफैँ श्रमदान गरेर १२ वटा कच्चीबाटो मर्मतसम्भार गर्न थालेको वडा नं २ का वडाध्यक्ष कमलराज बकावल मगरले बताउनुभयो ।
तत्कालीन गाउँ विकास समितिले २०७० देखि २०७२ सम्म झन्डै ५० लाख रुपियाँ खर्चेर १२ वटा बाटो निर्माण गरी वडा कार्यालयसँग समन्वय गरेको थियो । यद्यपि छ वर्षदेखि अलपत्र परेका यी बाटोमा कतैबाट पनि सहयोग नआएपछि स्थानीय आफैँ मर्मतमा कस्सिएका हुन् । सो सडकलाई नमुनाका रूपमा विस्तार गरी १२ महिना नै गाडी चलाउने गरी मर्मत भइरहेको दर्लामी मगरले बताउनुभयो ।