alliance khabar

मंगलबार, जेठ २६, २०८३

काठमाडौँ, जेठ २६ गते ।

नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढ्दै गएको छ । तथ्याङ्क अनुसार नेपालमा गत वर्ष देशभर तीन हजार जना ब्रेन ट्युमरका बिरामीको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गरिएका बिरामीमध्ये पुरुषको सङ्ख्या महिलाभन्दा बढी रहेको छ ।

राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष डा. राजिव झाका अनुसार उमेर समूहका आधारमा ३० देखि ५० वर्षका व्यक्तिमा ब्रेन ट्युमरको समस्या बढी देखिएको छ । वीर अस्पतालमा मात्र दैनिक चार जना बिरामी ब्रेन ट्युमरको शल्यक्रिया गर्नका लागि आउने गरेका छन् । वीरको न्युरो विभागमा मात्र ओपिडीमा दैनिक ८० जना बिरामी उपचारको लागि आउने गर्छन् ।

डा. झाका अनुसार ब्रेन ट्युमर भएका मानिसमा टाउको अत्यधिक दुख्ने, रिँगटा लाग्ने, आँखा देख्न कम हुने, शरीरको कुनै भागमा कमजोरी महसुस हुने लक्षण हुन्छन् । मदिरा सेवन, सुर्तीजन्य पदार्थ सेवनलाई पनि ब्रेन ट्युमरको कारकको रूपमा लिइन्छ । नेपालभरका २० भन्दा बढी न्युरोसम्बन्धी उपचार केन्द्रबाट सङ्कलन गरिएका तथ्याङ्कका आधारमा अध्ययन प्रतिवेदन तयार गरिएको जानकारी दिँदै अध्यक्ष झाले प्रदेशगत अवस्था हेर्दा बागमती प्रदेशमा सबैभन्दा धेरै ब्रेन ट्युमरका रोगी छन् । बागमती प्रदेशमा ३६.४ प्रतिशत बिरामीको शल्यक्रिया गरिएको छ । नेपालमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या प्रत्येक वर्ष बढ्दो व्रmममा रहेको जानकारी दिँदै उहाँले रोगको प्रारम्भिक पहिचान र समयमै उपचार हुन सके धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो ।

डा. झाका अनुसार प्रारम्भिक चरण अर्थात् स्टेज–१ र स्टेज–२ का अधिकांश ब्रेन ट्युमर शल्यक्रियामार्फत उपचार गर्न सकिन्छ । स्टेज–३ र स्टेज–४ का बिरामीलाई भने शल्यक्रियासँगै रेडियोथेरापी, किमोथेरापी तथा अन्य आधुनिक उपचार विधिको आवश्यकता पर्न सक्छ ।

वरिष्ठ न्युरो विशेषज्ञ डा. वसन्त पन्तले निरन्तर टाउको दुखिरहनु, बिहान उठ्नेबित्तिकै वान्ता हुनु, श्रवणशक्ति कमजोर हुँदै जानु, छारेरोग (एपिलेप्सी) का लक्षण देखिनु, शरीरका कुनै भागमा पक्षघात (प्यारालाइसिस) हुनु जस्ता लक्षण ब्रेन ट्युमरसँग सम्बन्धित रहेको जानकारी दिनुभयो । उहाँले यस्ता लक्षण देखिएमा तत्काल विशेषज्ञ चिकित्सकको परामर्श लिन सुझाव दिनुभयो ।

अमेरिकाको राष्ट्रिय क्यान्सर संस्थान (एनसिआई) का अनुसार सन् २०२२ मा विश्वभर करिब तीन लाख २१ हजार नयाँ ब्रेन ट्युमरका बिरामी पहिचान भएका थिए । झन्डै दुई लाख ४८ हजार मानिसको मृत्यु यसै रोगका कारण भएको अनुमान गरिएको छ । नेपालमा उपचारका लागि अस्पताल पुग्ने बिरामीको सङ्ख्या निरन्तर बढिरहेको झाले बताउनुभयो । स्वास्थ्य सचिव डा. विकास देवकोटाले सरकारले नसर्ने रोगलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले ब्रेन ट्युमर भएका बिरामीलाई सरकारले खर्च उपलब्ध गराउने गरेको बताउनुभयो । वीर अस्पतालले दुई वर्षदेखि ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ । डा. झाले उक्त सेवा आगामी जुन महिनासम्म निरन्तर उपलब्ध रहने जानकारी दिनुभयो ।

यस वर्षको विश्व ब्रेन ट्युमर दिवस ‘प्रारम्भिक पहिचानबारे जनचेतना अभिवृद्धि तथा रोग निदानमा हुने ढिलाइ न्यूनीकरण’ भन्ने मूल नाराका साथ मनाइएको छ । रोगबारे जनचेतना विस्तार, समयमै परीक्षण तथा उपचार पहुँच विस्तार गर्न सके ब्रेन ट्युमरबाट हुने जटिलता र मृत्यु दर घटाउन सकिने डा. झाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल