न्युयोर्क, जेठ १८ गते ।
विश्व फुटबलमा लियोनेल मेसीसँगै यस पुस्ताका सर्वश्रेष्ठ खेलाडी मानिएका क्रिस्टियानो रोनाल्डोलाई आफ्नो सङ्ग्रहमा प्रायः सबै ट्रफी जम्मा गरे पनि विश्वकप ट्रफीले लोभ्याइरहेको छ । ४१ वर्ष पुगेका रोनाल्डोलाई विश्वकप जित्ने अन्तिम अवसर छ भन्दा फरक पर्दैन ।
पाँच पटक ‘बालन डी ओर’ जितिसकेका रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुनुहुन्छ । उहाँले पोर्चुगलका लागि २२६ खेलमा १४३ गोल गर्नुभएको छ । रोनाल्डोको विश्वकप जित्ने सपना पूरा गर्न सबभन्दा पहिले पोर्चुगलले समूह ‘के’ मा कोलम्बिया, उज्बेकिस्तान र नवप्रवेशी कङ्गोको चुनौती पार गर्नुपर्ने हुन्छ । मेसीसँग रोनाल्डो छैटौँ पटक विश्वकप खैल्दै हुनुहुन्छ ।
पोर्चुगल
फिफा वरीयतामा पाँचौँ स्थानमा रहेको पोर्चुगलले सहजै समूह ‘के’ पार गर्ने अनुमान गरिएको छ । पोर्चुगलको टिम सशक्त पनि छ । यद्यपि गत नोभेम्बरमा विश्वकप छनोट खेलमा आयरल्यान्डसँग २–० ले हारेपछि भने पोर्चुगल सतर्क बनेको छ । यद्यपि अर्को खेलमा आर्मेनियालाई ९–१ ले हराउँदै विश्वकपमा स्थान बनाएर पोर्चुगल पुरानै लयमा फर्केको थियो । पोर्चुगलको यो नवौँ विश्वकप हो । पोर्चुगल सन् १९६६ मा तेस्रो र २००६ मा चौथो भएको थियो । सन् २००६ मा रोनाल्डोले पहिलो पटक विश्वकप खेल्नुभएको थियो । पछिल्लो संस्करणमा पोर्चुगल क्वाटरफाइनलमा मोरोक्कोसँग १–० ले स्तब्ध भएको थियो । सन् २०२३ देखि टिममा रहेका प्रशिक्षक रोवर्टो मार्टिनेजसँग यसपालि पनि विश्वस्तरीय खेलाडीको भण्डार छ । यद्यपि म्यान्चेस्टर युनाइटेडका बु्रनो फर्नान्डेज र पेरिस सेन्ट जर्मनबाट खेल्ने युवा मिडफिल्डर जोआओ नेभेसबाट पोर्चुगलले ठुलो अपेक्षा गरेको छ । गत वर्ष कार दुर्घटनामा निधन भएको आफ्ना खेलाडी डियोगो जोटाकै लागि भए पनि पोर्चुगल यस पटक विश्वकप उपाधि जित्न चाहन्छ ।
कोलम्बिया
कोलम्बियाको कप्तानमा आक्रामक मिडफिल्डर हामेस रोड्रिगेज हुनुहुन्छ । विश्वकपलाई नै ध्यानमा राखेर उहाँ हालै अमेरिकाको मेजर सकर लिग क्लब मिनेसोटा युनाइटेडमा आबद्ध हुनुभएको थियो । रोड्रिगेज सन् २०१४ विश्वकपमा गोल्डेन बुट विजेता हुनुहुन्छ । उहाँले कोलम्बियाका लागि ३१ अन्तर्राष्ट्रिय गोल गर्नुभएको छ । कोलम्बियाको यो सातौँ विश्वकप हो । पछिल्लो संस्करणमा छनोट हुन नसकेकाले पनि कोलम्बियाले
यस पटक सानदार पुनरागमन गर्ने आशा लिएको छ । सन् २०१४ मा क्वाटरफाइनलसम्मको यात्रा कोलम्बियाको अहिलेसम्मको विश्वकपमा उत्कृष्ट प्रदर्शन हो । फिफा वरीयतामा १३ औँ स्थानमा रहेको कोलम्बियाको प्रशिक्षकमा अर्जेन्टिनी नेस्टर लोरेन्जो हुनुहुन्छ ।
उज्बेकिस्तान
तत्कालीन सोभियत सङ्घबाट विश्वकप खेलिसकेको उज्बेकिस्तानले स्वतन्त्र भएपछि पहिलो पटक विश्वको सबभन्दा ठुलो फुटबल मञ्चमा सहभागिता जनाउँदै छ । फिफा वरीयतामा ५० औँ स्थानमा रहेको उज्बेकिस्तानले विश्वकपमा छनोट गराउने प्रशिक्षक टिमुर कापाजेको स्थानमा ठुलो नाम इटालीका फाबियो कानाभारोलाई टिममा ल्याएको छ । कानाभारोले सन् २००६ मा कप्तानका रूपमा इटालीलाई विश्व च्याम्पियन बनाउनुभएको थियो । टर्कीको इस्तानबुल बासाकसेहिरबाट खेल्ने इल्डर सुमुरोदोभको नेतृत्वमा यो टिम रहेको छ । सुमुरोदोभको नाममा ४४ अन्तर्राष्ट्रिय गोल रहेको छ ।
कङ्गो
सन् १९७४ मा कङ्गोले विश्वकप फुटबल प्रतियोगिता खेलिसकेको छ । सो समय कङ्गोलाई जायरको नाममा चिनिन्थ्यो । कङ्गो विश्वकपमा चयन हुने पहिलो उपसहारा अफ्रिकी टिम पनि हो ।
यस पटक कङ्गो मेक्सिकोको ग्वाडालाजारामा भएको प्ले इन खेलको अतिरिक्त समयमा जमैकालाई १–० ले हराएर विश्वकपमा चयन भएको हो । सो जितले दशकौँदेखिको युद्धले दिक्क कङ्गोका जनतालाई अपार खुसी प्रदान गरेको थियो । कङ्गोका प्रमुख खेलाडी कप्तान चान्सेल मेमबाहुनुहुन्छ । एक सयभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका मेम्बा फ्रान्सेली क्लब लिलीका डिफेन्डरहुनुहुन्छ । स्पेनी ला लिगाको क्लब रियल बेटिसबाट खेल्ने विन्गर कसेड्रिक बाकाम्बुबाट पनि कङ्गोले ठुलो अपेक्षा राखेको छ । फिफा वरीयतामा ४६ औँ स्थानमा रहेको कङ्गोका प्रशिक्षक फ्रान्सेली सेबेस्टायन डेसाब्र हुनुहुन्छ ।