तनहुँ, जेठ १५ गते ।
तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला बनाउने अभियानअन्तर्गत थप दुई स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषित भएका छन् । पछिल्लो पटक भिमाद नगरपालिका र बन्दीपुर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएसँगै जिल्लामा यो सफलता पाउने पालिकाको सङ्ख्या ६ पुगेको छ । यसअघि भानु, व्यास, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिका घोषणा भइसकेका छन् ।
राष्ट्रिय खोप तालिका बमोजिम तोकिएका उमेर समूहका सबै बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि भिमाद नगरपालिकामा एक विशेष कार्यक्रमका बिच सो घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा बोल्दै भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बालबालिकाको सुस्वास्थ्य नै नगरको समृद्धिको आधार भएको बताउनुभयो । प्रमुख सुवेदीले भन्नुभयो, “भौगोलिक विकटता र बसाइँसराइ जस्ता चुनौतीका बाबजुद स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूको अथक प्रयासले नगरका कुनै पनि बालबालिका खोपबाट बञ्चित हुनुपरेको छैन । यसको दिगोपनका लागि आगामी दिनमा पनि नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नेछ ।”
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख शारदा खनालले खोप कार्यक्रमलाई घरदैलोसम्म पु¥याएर सफल बनाउन अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले नगरलाई पूर्ण खोपयुक्त राखिरहन स्थानीय अभिभावकहरूको सचेतता र सहभागिता अझै आवश्यक रहेकोमा जोड दिनुभयो ।
यसैगरी, तोकिएको कार्यतालिका अनुसार बन्दीपुर गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । दुवै पालिकाका कार्यक्रममा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सरोकारवालाहरूलाई सम्मान समेत गरिएको थियो ।
स्वास्थ्य कार्यालय तनहुँका खोप सुपरभाइजर शंकरबाबु अधिकारीले जिल्लाका बाँकी पालिकाहरूलाई पनि चाँडै नै पूर्ण खोप सुनिश्चित घोषणा गरी सिङ्गो तनहुँ जिल्लालाई नै ‘पूर्ण खोप सुनिश्चित जिल्ला’ घोषणा गर्ने अभियान द्रुत गतिमा अघि बढेको जानकारी दिनुभयो । स्थानीय तहहरूले देखाएको यो सक्रियताले जिल्लाको स्वास्थ्य सूचकाङ्कलाई माथि उठाउन ठुलो मद्दत पुगेको उहाँको भनाइ छ ।