सर्लाही, वैशाख ११ गते ।
सर्लाही सदरमुकाम मलङ्गवामा अवैध रूपमा सञ्चालनमा रहेका ११ वटा स्वास्थ्य संस्था शिल गरिएको छ । अनुगमनका क्रममा दर्ता नै नभएको भेटिएपछि अस्पताल, पोलिक्लिनिक, हेल्थकेयरलगायतका स्वास्थ्य संस्था शिल गरिएको हो । सदरमुकाम मलङ्गवामा अवैध स्वास्थ्य संस्थाको बिगबिगी रहेको जनगुनासो बढेपछि बिहीबार जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, स्वास्थ्य कार्यालय, नगरपालिका, प्रादेशिक अस्पताल र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जको टोलीले संयुक्त रूपमा अनुगमन गरेको थियो ।
त्यसक्रममा अवैध रूपमा सञ्चालित स्वास्थ्य संस्था शिल गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो । अनुगमन टोलीले सर्लाही पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, ठाकुर सेवा उपचार, कल्याण हेल्थ केयर, सिद्धिगणपति पोलिक्लिनिक, प्रेमा हेल्थ केयर सेन्टर, अन्जली पोलिक्लिनिक, महतो क्लिनिक/निलम फार्मेसी, माली मेडिकल, जय माँ सुनैना हेल्थ केयर, लाइफ लाइन मेडिमेयर पोलिक्लिनिक र नाम नभएको एउटा अल्ट्रासाउन्ड गर्ने क्लिनिक बन्द गराएको छ ।
शिल गरिएकामध्ये चार वटा स्वास्थ्य संस्था दर्ता नभएको पाइएको छ भने अन्य सात वटा स्वास्थ्य संस्था अनुगमन टोली आएको सुइँको पाएपछि बन्द गरेर सञ्चालक फरार भएका पाइएको सहायक सिडिओ घिमिरेले बताउनुभयो । सञ्चालक नभेटिएको तथा बन्द अवस्थामा रहेका स्वास्थ्य संस्थामा अनुगमन टोलीले शिल गरेको हो ।
बिहीबार मलङ्गवाका १६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । त्यसमध्ये दर्ता भएर सञ्चालनमा रहेका पाँच वटा स्वास्थ्य संस्थालाई नवीकरण वा अन्य कानुनी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था देखिएकाले एक साताभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ ।
यसअघि २०८१ साल फागुन अन्तिम साता मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले गरेको अनुगमनमा मलङ्गवाका अधिकांश पोलिक्लिनिक तथा अस्पताल अवैध रहेको पाइएपछि बन्द गराइएको थियो । त्यसबेला मलङ्गवामा १९ वटा स्वास्थ्य संस्थाको अनुगमन गर्दा दर्ता नभएका तथा मापदण्ड पूरा नगरेका १५ वटा स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिइएको थियो ।
अवैध रूपमा सञ्चालनमा रहेका क्लिनिक तथा अस्पतालहरूले बिरामीलाई मनपरी उपचार गर्ने, चर्को शुल्क असुल्ने, अदक्ष स्वास्थ्यकर्मी राख्ने र बिरामीको स्वास्थ्यमा खेलवाड गर्ने गरेको गुनासो आउने गरेको छ । एक वर्षअघि तत्कालीन मुख्यमन्त्री सिंहले सर्लाहीका मलङ्गवा, लालबन्दी, नवलपुर, हरिवन, नयाँरोड, बरहथवा लगायतका स्थानमा यस्ता स्वास्थ्य संस्था बन्द गराउनुभएको थियो । तर तीमध्ये धेरै पुनः खुलेआम सञ्चालनमा आएको पाइएको छ ।
अनुगमनको मुख्य जिम्मेवारी पाएका स्थानीय तहले यसतर्फ पर्याप्त ध्यान नदिएको आरोप लाग्दै आएको छ । केही महिनाअघि मात्र लालबन्दी नगरपालिका–१ नवलपुरमा अवैध रूपमा सञ्चालित एक आयुर्वेद औषधालयमा उपचारका लागि ल्याइएकी किशोरीको मृत्यु भएको घटना सार्वजनिक भएको थियो ।
पछिल्लो समय नवलपुर क्षेत्र अवैध पोलिक्लिनिक र अस्पतालको ‘हब’ बनेको स्थानीयवासीको भनाइ छ । गत वर्ष स्वास्थ्य संस्थाको अनुगमनका क्रममा स्वास्थ्यकर्मीसँग हातपात भएपछि मुद्दा झेल्नुपरेको भन्दै लालबन्दी नगरपालिकाका जनप्रतिनिधिहरू अनुगमनमा हच्किएको पनि बताइएको छ ।
लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानीले गत वर्षको घटनापछि जनप्रतिनिधिहरू डराएकाले स्वास्थ्य संस्थाहरूको अनुगमन नियमित रूपमा हुन नसकेको स्वीकार गर्नुभएको छ । उहाँका अनुसार अवैध स्वास्थ्य संस्थालाई पटक–पटक पत्राचार गरी बन्द गर्न निर्देशन दिइए पनि अटेरी गर्ने प्रवृत्ति कायम छ ।