काठमाडौँ, वैशाख ८ गते ।
सरकारले गत सातादेखि सुरु गरेको ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सफल बनेको छ । अधिकांश सरकारी कार्यालयमा काम हुन नसकी अगाडि नबढेका र कतिपय रोकिएका फाइलको काम अभियान सञ्चालनको एक सातामा सम्पन्न भयो । मुद्दा परेका र कानुन अभावमा रोकिएका फाइलबाहेक सरकारी कार्यालयका अन्य सबैजसो फाइल अगाडि बढी शून्य बाँकी फाइल अभियान सप्ताह सफल प्रायः बनेको जनाइएको छ ।
सरकारले गत २०८२ चैत ३० देखि २०८३ वैशाख ७ गतेसम्म शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन गरेको थियो । अभियान सफल बनाउन सरकारले शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन तयार गरी कार्यान्वयनमा ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र स्थानीय तहलाई परिपत्र गरी शून्य बाँकी फाइल अभियान सप्ताह सञ्चालन गर्न निर्देशन नै दिएको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसालले अधिकांश सरकारी कार्यालयमा यसअगाडि ‘पेन्डिङ’ बसेका कतिपय फाइलको समाधान भएको र कतिपय फाइल समाधानको प्रक्रियामा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यसअगाडि विभिन्न कारणले अल्झिएका र अल्झाइएका फाइल पनि अहिले समाधानको प्रक्रियामा छन् । कतिपय फाइल त एक सातामा टुङ्गिएर समस्याको समाधान नै भइसकेका छन् । जुन तथ्याङ्क प्रधानमन्त्री कार्यालयमा आउने क्रम जारी छ ।” कतिपय सेवाग्राहीको फाइललाई अड्काउनेभन्दा पनि विधि र प्रक्रियाले फाइल अगाडि बढाउन मिल्दैन भने त्यस्तो फाइल फिर्ता पठाउने र कानुनसम्मत छ भने तत्काल निर्णय गरी काम अगाडि बढाउने काम यस अवधिमा भएका छन् । यसले सेवाग्राही उत्साहित भएको भुसालको भनाइ छ ।
सरकारले शून्य बाँकी फाइल सप्ताह एक हप्ताका लागि मात्र अभियान भनिए पनि अब यो क्रम सधैँ चल्ने भएकाले आगामी दिनमा कुनै पनि सेवाग्राहीको बाँकी फाइल नरहने उहाँले स्प्ष्ट पार्नुभयो ।