फिदिम, वैशाख ५ गते ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडामा जारी ‘प्रथम अध्यक्ष कप’ आमन्त्रण फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ।
सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाको खेलमैदानमा दिउँसो १ बजे हुने फाइनलमा उपाधिका लागि आयोजक तिजोक युवा क्लब नवमीडाँडा र नवकिरण स्पोर्टिङ क्लब झापा आमनेसामने हुनेछन्।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक तिजोक युवा क्लबले भारतको केएफसी सिलगुढीलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको थियो। दोस्रो सेमिफाइनलमा नवकिरण स्पोर्टिङ क्लब झापाले हलिबोध फुटबल क्लबलाई ४–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।
प्रतियोगिताको विजेता टोलीले नगद रु. २ लाख २२ हजार २ सय २२ र उपविजेताले रु. १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
अध्यक्ष कपमा यस वर्ष पाँचथरसहित झापा, मोरङ, सुनसरी, इलाम र छिमेकी मुलुक भारतको एक गरी आठ टोलीको सहभागिता रहेको थियो।
वैशाख १ गतेदेखि सुरु भएको प्रतियोगितामा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति हुँदै आएको छ। आज साँझ चर्चित गायिका ज्योति मगरको विशेष प्रस्तुति रहने आयोजक तिजोक युवा क्लबका अध्यक्ष हेमराज आङ्देम्बेले जानकारी दिनुभयो। हरेक वर्षझैँ यस वर्ष पनि खेलकुद, संस्कृति र मेलालाई जोडेर कार्यक्रम आयोजना गरिएको हो।