गुल्मी, चैत २४ गते।
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत छैठौं बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक राजनीति, सुशासन, विकास र सेवा प्रवाहका विषयमा प्रश्न र सुझाव प्रस्तुत गरेका छन्। प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले संविधान कार्यान्वयन, सुशासन र जनअपेक्षा पूरा गर्न प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो। दुई तिहाइ जनादेश प्राप्त सरकारले जनताको विश्वास जोगाउन ठोस काम गर्नुपर्ने उहाँको भनाइ थियो। कृषिमा मल, बीउबिजन र राहत प्याकेज नआएकोप्रति प्रश्न उठाउँदै उहाँले सरकारलाई स्पष्ट जवाफ दिन आग्रह गर्नुभयो।
प्रदेश सभा सदस्य वीरबहादुर रानाले नयाँ सरकार गठनप्रति बधाई दिँदै पुराना दलहरूले केही नगरेको भन्ने भाष्य गलत भएको बताउनुभयो। २०४६ सालपछि विकासको आधार तयार भएको उल्लेख गर्दै उहाँले सङ्घीयताको मर्मअनुसार काम हुन नसकेको गुनासो गर्नुभयो। प्रदेशलाई बलियो बनाउन स्वाभिमानमा आधारित शासन आवश्यक रहेको उहाँको भनाइ थियो। प्रदेश सभा सदस्य अम्बिका काफ्लेले महिलामाथि हुने हिंसा अन्त्य हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। अर्का प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले बलात्कारका घटनामा वृद्धि भएको भन्दै कडा कानुनी व्यवस्था आवश्यक रहेको धारणा राख्नुभयो।
प्रदेश सभा सदस्य मिनाकुमारी श्रेष्ठले वार्षिक योजना कार्यान्वयनमा ढिलाइ हुँदा बजेट फ्रिज हुने अवस्था आएको बताउनुभयो। प्रदेश सभा सदस्य राजकुमार चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो भने अर्का प्रदेश सभा सदस्य तारा थापाले कार्कीले आयोगको निष्पक्षतामाथि प्रश्न उठाउनुभयो।
यस्तै प्रदेश सभा सदस्य भूवनेश्वर चौधरीले सबै पक्षले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। प्रदेश सभा सदस्य भगवती अधिकारीले नयाँ राजनीतिक परिवेशमा जनताको जीवनस्तर सुधार हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। विज्ञापन नीतिले निजी सञ्चार माध्यमलाई असर पार्न सक्ने जोखिम औंल्याउँदै उहाँले लोकतन्त्र कमजोर बन्न सक्ने चेतावनी दिनुभयो।
बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले अधिकांश योजना कार्यान्वयनमा रहेको र छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। यसैबीच वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले बैठकमा ‘प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गर्नुभएको छ । प्रदेश सभाको अर्को बैठक चैत २४ गते मंगलबार दिउँसो १ बजे बस्ने जानकारी गराइएको छ।