alliance khabar

बिहिबार, चैत्र १९, २०८२

काठमाडौँ, चैत १९ गते ।

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरू उपाध्यक्ष र संसदीय समितिका सभापतिको रिक्त पदमा निर्वाचनका लागि सहमति खोज्न आन्तरिक गृहकार्यमा जुटेका छन् । दलहरूको मागबमोजिम सङ्घीय संसद् सचिवालयले चैत २२ गतेसम्म सहमतिका लागि पर्खिने जनाएको छ ।

बिहीबारका लागि तय भएको संसद् बैठकको कार्यसूची तय गर्न बुधबार अपराह्न बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा दलहरूले उपाध्यक्ष पदको निर्वाचनका लागि आन्तरिक गृहकार्य गर्न चैत २२ गतेसम्म पर्खिन आग्रह गरेका हुन् । दलहरूको आग्रहबमोजिम सभाका अध्यक्षले बिहीबारको बैठकमा निर्वाचन कार्यक्रम प्रकाशन गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिने विषय कार्यसूचीमा राखिएन ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले भन्नुभयो, “संसद्को बैठक बस्नुअघिसम्म दलहरूबिच समझदारी भए बिहीबारै उपाध्यक्षको निर्वाचन कार्यक्रम प्रकाशित हुने छ । नभए चैत २४ गते निर्वाचन गर्ने गरी २२ गते निर्वाचन कार्यक्रम प्रकाशित गर्ने सचिवालयको तयारी छ ।”

राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले चैत २२ गतेको बैठकले उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम तय गर्ने गरी समितिको बैठकमा छलफल भएको प्रस्ट्याउनुभयो । उहाँले भन्नुभयो, “दलहरूबिच आन्तरिक सहमति र सहकार्यका लागि समय चाहिएकाले चैत २४ गते निर्वाचन हुने गरी तयारी गर्न सचिवालयलाई आग्रह गरिएको छ ।”

समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसमेत उपस्थित हुनुहुन्थ्यो । छलफलमा सहभागी कांग्रेसका सचेतक रोकायले सरकार गठन भएको केही समय मात्रै भएको र नयाँ ‘बिजनेस’ का लागि पर्याप्त तयारी नभएकाले तत्काल गर्नुपर्ने आवश्यक काम अगाडि बढाउन मन्त्री गौतमले आग्रह गर्नुभएको जानकारी गराउनुभयो ।

राष्ट्रिय सभामा उपाध्यक्ष पद रिक्त छ । उपाध्यक्ष बिमला घिमिरेसहित १८ जना सदस्यको कार्यकाल गत फागुन २१ गते सकियो । कार्यकाल सकिएका सदस्यको स्थानमा माघ ११ गतेको निर्वाचनबाट १८ जना नयाँ सदस्य निर्वाचित भएका छन् । घिमिरे नेकपा (एमाले) को प्रतिनिधित्व गरी उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय सभामा प्रतिनिधित्व छैन । उपाध्यक्ष पदमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूबाटै उम्मेदवार हुने छन् । नेपाली कांग्रेस माथिल्लो सदनको सबैभन्दा ठुलो दल हो । कांग्रेसका सचेतक रोकायले राष्ट्रिय सभामा कांग्रेस ठुलो दल रहे पनि धेरै प्राप्त गर्नुपर्ने अडानमा नरहेको बताउनुभयो । उहाँले सभाका सबै दललाई मिलाएर जाने सोचमा रहेकाले उपाध्यक्ष पद पाउनैपर्ने दाबी नगरेको प्रस्ट्याउनुभयो ।

दोस्रो ठुलो दल नेपाली कम्युनिस्ट पार्टी हो । राष्ट्रपतिबाट मनोनीत सदस्य नारायणप्रसाद दाहाल सभाका अध्यक्ष हुनुहुन्छ । नेकपा (एमाले) तेस्रो दल हो । राष्ट्रिय सभामा कांग्रेसका २४, नेकपाका १७, एमालेका १०, जसपा नेपालका दुई, लोसपा नेपाल र राष्ट्रिय जनमोर्चाका एक/एक तथा मनोनीत दुई सदस्य हुनुहुन्छ । एक जनाको निधन र अर्को एक जना मनोनीत हुन बाँकी छ ।

राष्ट्रिय सभाको चार वटा समितिका सभापतिको स्थान रिक्त छ । समितिका सभापतिको निर्वाचनअघि नवनिर्वाचित सदस्यलाई दलहरूको सिफारिसबमोजिम सभाका अध्यक्षले समितिमा मनोनयन गर्नुहुने छ । दलहरूले मनोनयनका लागि नाम पठाएको छैन । सचिवालयका सहायक प्रवक्ता कोइरालाले दलहरूबाट प्राप्त सूचीबमोजिम निर्वाचित सदस्यहरू समितिमा मनोनीत भएपछि समिति सभापतिको निर्वाचन प्रक्रिया सुरु हुने छ ।

सचिवालयले चैत २५ गतेभित्र उपाध्यक्ष र समितिका सभापतिको निर्वाचन टुङ्ग्याउने गरी अगाडि बढ्ने उहाँले बताउनुभयो । संविधानले सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभाका सदस्यले आफूमध्येबाट सभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्ने उल्लेख छ । सङ्घीय संसद् सचिवालयका अनुसार बिहीबारको बैठकमा सभाका अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त भएको पत्रको बेहोरा जानकारी गराउनुहुने छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठन र कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुहुने छ । सहायक प्रवक्ता कोइरालाले बिहीबार बिहान दलहरूबिच समझदारी भएको जानकारी आए सभाका उपाध्यक्षको निर्वाचन कार्यक्रम प्रकाशित गर्ने गरी कार्यसूची परिमार्जन हुन सक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल