काठमाडौँ, चैत १७ गते ।
काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ पर्नुभएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार बिहान सुविधानगरस्थित निवासबाट उहाँलाई पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मनोहरप्रसाद भट्टका अनुसार पक्राउ पर्नुभएको पूर्वप्रमुख जिल्ला अधिकारी रिजाललाई हाल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएको छ ।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भएको एसपी भट्टले जानकारी दिनुभयो ।
रिजाल जेनजी आन्दोलनका समयमा काठमाडौँका प्रमुख हुनुहुन्थ्यो । उहाँमाथि गत भदौमा २३–२४ गते भएको जेनसी आन्दोलनमा दमन गरेको आरोप छ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो । आयोगकै सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक गत शनिबारनै पक्राउ परिसक्नुभएको छ ।