alliance khabar

शनिबार, चैत्र १४, २०८२

काठमाडौँ, चैत १४ गते  । 

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पहिचान २०७८ सालभन्दा अघि जागरणका गीतसँगै सुधारका पक्षमा निरन्तर खबरदारी गर्ने गायक एवं अभियन्ताका रूपमा थियो । २०७९ सालको स्थानीय तह निर्वाचनले उहाँको पहिचान फेरिदियो । स्थानीय तहको निर्वाचनमा उहाँ काठमाडौँ महानगरपालिका प्रमुखमा निर्वाचित हुनुभयो ।

महानगरप्रमुख हुँदा साहसिक काम र सङ्घीय सरकारसँग स्थानीय तहको अधिकारका सन्दर्भमा उठाएका प्रश्नले उहाँलाई जनप्रिय बनायो । साथै काठमाडौँ महानगरपालिकालाई नवीनतम एवं मौलिक सहरका रूपमा स्थापित गर्ने प्रयासले उहाँलाई देशको प्रधानमन्त्री बन्ने यात्रातर्फ अघि बढाएको हो ।

भदौ २३ र २४ गतेको जेनजी जनआन्दोलनपछि नेपालको राजनीतिक कोर्स बदलियो । भदौ २७ गते पूर्वप्रधान न्यायाधीश सुशीला कार्की देशको प्रधानमन्त्री बन्नुभयो । उहाँले छ महिनाभित्र निर्वाचन गराउने कार्यादेश पाउनुभयो । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको विजयसँगै प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन्द्र शाह ३५ वर्षको उमेरमा प्रधानमन्त्री बन्नुभएको हो ।

उहाँ जननिर्वाचितमध्येमा सबैभन्दा कम उमेरका प्रधानमन्त्री हुनुहुन्छ । नेपालको इतिहासमा प्रथम प्रधानमन्त्री मानिएका भीमसेन थापा ३२ वर्षमा र पञ्चायतकालमा डा. तुल्सी गिरीले ३३ वर्षमा प्रधानमन्त्री हुनुभएको थियो ।

सङ्घर्षशील शाह 

वरिष्ठ आयुर्वेद चिकित्सक डा. रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा प्रधानमन्त्री बालेन शाहको जन्म २०४७ वैशाख १४ गते काठमाडौँको नरदेवीमा भएको हो । उहाँका बुवाको २०८२ मङ्सिर १५ गते निधन भयो । उहाँका दाजु कौशल शाह चार्टर्ड एकाउन्टेन्ट हुनुहुन्छ । उहाँकी बहिनीको बिहे भारतमा भएको छ । उहाँकी श्रीमती मोडल एवं नर्स सबिना काफ्ले र एक छोरी हुनुहुन्छ ।

डा. शाहको पुख्र्याैली घर महोत्तरी हो तर शाहको परिवार काठमाडौँमै बसोबास गर्दै आएको छ । प्रधानमन्त्री शाहका बुवाले काठमाडौँ नरदेवी आयुर्वेदिक अस्पताल र सिंहदरबार वैद्यखानामा सेवा गर्नुभयो । महोत्तरीको एकडारा गाउँपालिकामा रहेको उहाँको घरमा रास्वपाको कार्यालय बनाइएको छ ।

उहाँका लागि राजनीतिक सङ्घर्ष निकै चुनौतीपूर्ण थियो । काठमाडौँ महानगरप्रमुखमा ६१ हजार ७६७ मतसाथ विजयी हुँदा कुनै दलसँग उहाँको आबद्धता थिएन । उहाँ लौरो निर्वाचन चिह्नबाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी हुनुभयो । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा नवनिर्वाचित प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच पुस १३ गते सातबुँदे सहमति भयो । प्रधानमन्त्रीको उम्मेदवार प्रस्तावित उहाँले माघ ४ गते महानगरप्रमुखबाट राजीनामा दिएर झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्नुभयो ।

उहाँको उच्च शिक्षा इन्जिनियरिङमा छ । विनायक सुधा (भिएस निकेतन) स्कुलबाट कक्षा १२ उत्तीर्ण शाह हिमालयन ह्वाइट हाउसबाट सिभिल इन्जिनियरिङ र भारतको विश्वेश्वरैया प्राविधिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर हुनुहुन्छ । अध्ययन पूरा गरेपछि औपचारिक रूपमा परामर्श र निर्माण क्षेत्रमा व्यावसायिक जीवन आरम्भ गर्नुभएका शाह २०७२ सालको भूकम्पपछि पुनर्निर्माणका क्रममा ३५ जिल्ला पुग्नुभयो ।

साङ्गीतिक क्षेत्रमा पहिचान 

प्रधानमन्त्री शाहको ‘जय महाकाली’ गीत बिहीबार सार्वजनिक भएको छ । उहाँका अन्य गीत पनि चर्चित छन् । ¥याप सङ्गीतमार्फत दर्शकश्रोतामाझ लोकप्रिय उहाँ ‘सडक बालक’ गीतमार्फत औपचारिक रूपमा साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभएको हो । ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’, ‘गरिबको चमेली बोल्दिने कोही छैन’ सहित उहाँका कैयौँ गीत लोकप्रिय छन् । उहाँको ‘अश्र’ कवितासङ्ग्रह प्रकाशित  छ ।

जेनजी आन्दोलनको जग 

बालेन्द्र शाहलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीका लागि प्रस्ताव आएको थियो । उहाँले भने आफूनिकटसँग निर्वाचित प्रधानमन्त्री बन्ने प्रस्ट पार्नुभएको थियो । काठमाडौँ महानगरपालिका प्रमुख भएपछि उहाँले महानगरभित्रको बेथिति हटाउन पहल थाल्नुभयो । नदी र खोला किनारका अव्यवस्थित बस्ती हटाउने, सडक र भवनको मापदण्ड कार्यान्वयन गराउने, पैदलयात्रुका लागि सडकपेटी खुला गर्नेलगायतका कार्यमा उहाँ अग्रसर हुनुभयो ।

उहाँले कपनको बाढीको कारक चखुँचाखोला र टुकुचाखोला खोल्न गरेको पहलले पनि जनताको मन र मत जित्नुभएको हो । यससँगै उहाँकै नेतृत्वमा महानगरको संस्कृति र सम्पदा जोगाउने, शिक्षा र स्वास्थ्यमा सुधारदेखि होर्डिङ बोर्ड, डिजिटल एवं फ्लेक्स बोर्ड, फ्लेक्स हटाउनेसम्मका कार्य अघि बढेका हन् । पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा मारवाडी सेवा समितिले दुई दशकभन्दा बढी समयदेखि कब्जा गरिरहेको पशुपति गौशाला धर्मशाला खाली गराएर निःशुल्क सञ्चालन गर्नेसहितका सुधारका प्रयास पनि उहाँले गर्नुभयो ।

सांस्कृतिक चेत र समर्पण 

प्रधानमन्त्री बालेन्द्र शाहको शपथग्रहणअघि सनातन हिन्दु र बौद्ध परम्परा अनुसार पूजा सम्पन्न गरियो । उहाँले बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणमा किराँती सभ्यताको प्रतीक सिलामसाक्मा लगाउनुभएको थियो । देश दौडाहामा रहँदा पनि उहाँले प्राचीन सभ्यता र संस्कृतिप्रतिको चेत र समर्पण प्रस्तुत गर्नुभएको थियो । शब्द होइन, काम बोल्छ भने झैँ प्रधानमन्त्री शाहको काम बोलेको छ । उहाँले महानगरप्रमुख हुँदा आर्जन गरेको जनविश्वासलाई प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा कामबाटै प्रस्तुत गर्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल