alliance khabar

बिहिबार, चैत्र १२, २०८२

काठमाडौँ, चैत १२ गते ।

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमा मतदाताले देखाएको अभूतपूर्व सहभागिता लोकतन्त्रप्रतिको अटुट विश्वास भएको बताउनुभएको छ । चुनावी प्रक्रिया समापनका अवसरमा निर्वाचन आयोगले बुधबार आयोजना गरेको जलपान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सु्दृढ तुल्याएको बताउनुभयो ।

उहाँले निर्वाचनबाट जनताले प्रकट गरेको अभिमतले निर्वाचित जनप्रतिनिधिको काँधमा ठुलो दायित्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रले प्रदान गरेको आफ्ना प्रतिनिधि चुन्ने अधिकारको प्रयोग गरी यो महान् उत्सवमा नेपाली नागरिकले देखाउनुभएको उत्साहपूर्ण सहभागिताले हाम्रो लोकतान्त्रिक प्रणालीप्रतिको अटुट विश्वासलाई पुनः पुष्टि गरेको छ । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याएको छ । मतदाताले मतदान केन्द्रसम्म पुगेर व्यक्त गर्नुभएको मतादेशले मुलुकको भविष्यलाई दिशानिर्देश गरेको छ ।”

उहाँले गणतन्त्रले लक्षित गरेको जीवनस्तर उकास्न सबै एकजुट भएर अघि बढ्नुपर्ने पनि बताउनुभयो । आयोगले निर्वाचन सहभागिताको वृद्धि गर्न, मितव्ययी र पारदर्शिता कायम गर्न खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । हरित निर्वाचनको अवधारणा कार्यान्वयनमा आयोगले अघि बढाएको कदम पनि उल्लेखनीय रहेको राष्ट्रपति पौडेलको भनाइ थियो । निर्वाचन लोकतन्त्रको मेरुदण्ड रहेको बताउँदै उहाँले जटिल परिस्थितिमा घोषणा भएको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सबैलाई उहाँले धन्यवादसमेत दिनुभयो ।

निर्वाचनले लोकतन्त्र सुदृढ

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा पुनः मतदानको अवस्था नआई शान्तिपूर्ण रूपमा प्रक्रियाले पूर्णता पाएकामा नयाँ मानक स्थापित भएको बताउनुभयो । निर्वाचनले संवैधानिक प्रणाली र लोकतान्त्रिक मूल्यमान्यतालाई संवर्धन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि राम्रो भएको छ । नेपालप्रतिको सम्मान बढेको छ । निर्वाचनले संवैधानिक प्रणाली र लोकतन्त्रलाई सुदृढ पारेको छ । ”

आफू प्रधानमन्त्री हुँदा मुलुक राजनीतिक शून्यतामा रहेकामा निर्वाचनले संवैधानिक र राजनीतिक शून्यता अन्त्य गरेको कार्कीले बताउनुभयो । निर्वाचन गराउने कुरा चुनौतीपूर्ण रहे पनि आयोगको अठोटका कारण निर्वाचन तोकिएकै मितिमा सम्पन्न भएको पनि कार्कीको भनाइ थियो । शान्तिपूर्ण रूपमा निष्पक्षताका साथ निर्वाचन सम्पन्न गरेकामा उहाँले आयोगलाई धन्यवादसमेत दिनुभयो ।

सबैको सकारात्मक भूमिकाले सहज

जलपान समारोहका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निकै कठिन परिस्थितिमा जटिलता र व्यवधान बेहोरेर निर्वाचन सम्पन्न गरिएको बताउनुभयो । विभिन्न संशयबिच आयोगले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरेको पनि भण्डारीको भनाइ थियो । निर्वाचन प्रक्रिया सकारात्मक वातावरण निर्माणका लागि सबै सरोकारवालाको भूमिका सकारात्मक रहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनबारे अनेक कोणबाट अभिव्यक्त संशयबिच आयोगले राजनीतिक दलसँग परामर्श गर्न सफल भयो । सरकार र सरोकारवालासँग हामीले निरन्तर छलफल गरी निर्वाचनको उपयुक्त वातावरण तयार गर्न अनवरत क्रियाशील भयौँ ।”

जलपान समारोहका राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका मन्त्री, संवैधानिक निकायका प्रमुख/प्रतिनिधि, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकारका मुख्य सचिव/सचिवहरू, सुरक्षा निकायका प्रमुखलगायतका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल