नवलपुर, चैत ११ गते ।
नवलपुरमा सञ्चालन गरिएको जापानिज इन्सेफलाइटिसविरुद्धको विशेष खोप अभियानले लक्ष्य पूरा गरेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । फागुन २९ गतेदेखि सञ्चालन भएको अभियानमा एक लाख १४ हजार २३३ जना (७६.१६ प्रतिशत) ले खोप लगाएका कार्यालयले जानकारी दिएको छ ।
जसमध्ये ६६ हजार ७९३ महिला र ४७ हजार ४४० पुरुष रहेका कार्यालय प्रमुख डा. केशवप्रसाद चापागाईंले जानकारी दिनुभयो । चैत १० गतेसम्म ३५ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने अभियान सञ्चालन गरिएको थियो ।
जिल्लामा यस उमेर समूहका नागरिकको संख्या करिब एक लाख ४५ हजार रहेकोमा करिब ५ हजारलाई खोप लगाउन नमिल्ने र करिब २० हजार विदेशमा रहेको अनुमान गरिएको थियो । सो आधारमा करिब एक लाख १५ हजारलाई खोप लगाउने लक्ष्यअनुसार उपलब्धि हासिल भएको डा. चापागाईंले बताउनुभयो ।
अभियानमा छुटेका नागरिकहरूले आगामी शुक्रबारसम्म मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र जिल्ला अस्पताल देवचुलीमा खोप लगाउन सक्ने उहाँको भनाइ छ । जिल्लाका सबै आठवटा पालिकामा एकसाथ सञ्चालन गरिएको अभियानमा सहभागिता उल्लेख्य रहेको कार्यालयले जनाएको छ ।
देशभरमै नवलपुरमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण उच्च देखिएपछि जिल्लाभर निःशुल्क खोप अभियान सञ्चालन गरिएको हो । जिल्लामा हालसम्म ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १४ जनाको मृत्यु भइसकेको छ । चालु आर्थिक वर्षमै १४ जनामा सङ्क्रमण देखिँदा ६ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।
चिकित्सकका अनुसार सङ्क्रमित हाँस, चराचुरुङ्गी तथा सुँगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि जापानिज इन्सेफलाइटिस सर्ने गर्दछ ।