alliance khabar

आइतबार, चैत्र ०८, २०८२

काठमाडौँ, चैत ८ गते ।

 नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ तथा संसद् अधिवेशन सञ्चालनका लागि सभाकक्षलगायतको सबै तयारी पूरा भएको छ । अन्ततः निर्माणाधीन संसद् भवन तयार हुन नसकेपछि नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सांसदको शपथग्रहण तथा संसद् अधिवेशन सञ्चालनका लागि तयारी गरिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

संसद् बैठक बस्ने मुख्य सभाकक्ष निर्माण हुन अझै समय लाग्ने भएकाले केही समयका लागि यो सभाकक्ष प्रयोग गर्न लागिएको हो । बहुउद्देश्यीय सभाकक्षमा अहिले कुर्सीको व्यवस्थापन सम्पन्न भइसकेको छ भने माइक, क्यामेरालगायत मिलाउने काम तीव्र गतिमा भइरहेको छ । सांसदको शपथ चैत १२ गते गराउने योजना अनुसार अस्थायी रूपमा नयाँ सभाकक्ष निर्माण गरिएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले संसद् अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले निर्माणाधीन नयाँ संसद् भवन तथा प्रतिनिधि सभा सदस्यको शपथ र संसद् अधिवेशन सञ्चालनका लागि तयार पारिएको अस्थायी कक्षको निरीक्षण गर्दै संसद् अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभयो । अधिवेशनका लागि तयार पारिएको सभाकक्षबारे जानकारी दिँदै गृहमन्त्री अर्यालले प्रतिनिधि सभाको छुट्टै बैठकका साथै आवश्यकता अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाको समेत संयुक्त बैठक सञ्चालन गर्ने गरी कक्ष तयारी भएको बताउनुभयो । उहाँका अनुसार आवश्यक परेमा दुवै सदनको संयुक्त बैठक सञ्चालन गर्ने गरी आवश्यक पूर्वाधार तयार गरिएको छ । सभामुखको कार्यकक्षसमेत तयार भइसकेको छ ।

सभाकक्षभित्र प्रतिनिधि सभा सदस्यलगायत आवश्यक सबैका लागि सिट व्यवस्थापन र फर्निचर व्यवस्थापन सन्तोषजनक किसिमले तयारी अवस्थामा रहेको बताउँदै उहाँले अहिले माइक (साउन्ड सिस्टम) तथा स्क्रिन जडानलगायतको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अस्थायी रूपमा नै सभाकक्ष तयार गरिए पनि फर्निचर र प्रविधिको प्रयोग गुणस्तरीय रहेको गृहमन्त्री अर्यालको भनाइ थियो ।

२०६४ सालसम्म संसद्को बैठक सिंहदरबारस्थित पुतली बगँैचामा रहेको भवनमा बस्दै आएको थियो । संविधान सभा सदस्यको सङ्ख्या बढेपछि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद्को बैठक बस्दै आएको थियो । जेनजी समूहको नाममा गत भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटबाट नयाँ बानेश्वरस्थित संसद् भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकको सभाकक्षको अभाव भएको हो । नयाँ बानेश्वरको भवनको भाडाबापत संसद् सचिवालयले वार्षिक १० करोड ५८ लाख रुपियाँ बुझाउँदै आएको छ ।

करिब पाँच अर्ब रुपियाँ लागतमा सिंहदबारपरिसरमा संसद्को नयाँ भवन निर्माण भइरहेको छ । भवनको ठेक्का नेपाली निर्माण कम्पनी टुण्डी र चिनियाँ निर्माण कम्पनी सेक (संयुक्त) ले पाएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते शिलान्यास गर्नुभएको यो आयोजना तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते निर्माण व्यवसायीसँग सम्झौता भएको थियो । सम्झौता भएको छ वर्ष बितिसक्दासम्म पनि काम सम्पन्न हुन सकेको छैन । संसद् भवन निर्माण आयोजनाको अहिलेसम्मको समग्र भौतिक प्रगति ९३ प्रतिशत र आर्थिक प्रगति ७८ प्रतिशत पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल