उर्लाबारी, चैत ५ गते ।
मोरङको बेलबारी नगरपालिकाका धिमालको सम्मानमा नगरको वडा नं. १० स्थित माटीगाउँमा धिमाल जीवित सङ्ग्रहालय र घरबास निर्माण गरिएको छ । होमस्टे सञ्चालनमा आइसकेको छ भने सङ्ग्रहालय निर्माणको चरणमा छ ।
मोरङ र झापाको तराई क्षेत्रमा मात्र बसोबास गर्दै आएको धिमाल जातिलाई पूर्वका बेलबारीसहित पथरीशनिश्चरे र दमक नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका छन् । धिमाल समुदायको रीतिरिवाज, परम्परा, वेशभूषा, खानपान र संस्कृति देख्न र हेर्न सकिने गरी धिमाल जीवित सङ्ग्रहालय र धिमाल घरबास नर्माण गरिएको हो । बेलबारी –१० को माटीगाउँ धिमाल समुदायको राजधानी मानिन्छ । १२१ घरधुरी एउटै बस्तीमा रहेको धिमाल गाउँ अन्यत्र कतै पनि नरहेको माटीगाउँ टोल विकास समितिका अध्यक्ष जोगेन्द्र धिमालले बताउनुभयो । उहाँका अनुसार माटी गाउँका १० घर होमस्टेका लागि छनोट भएका थिए । जसमध्ये सूर्यबहादुर, सूर्यमाया, सकेन्द्र, नगेन्द्र र जोगेन्द्र धिमालले होमस्टे तयार गरिसक्नुभएको छ ।
तीन लाख २६ हजार ७६३ रुपियाँमा निर्माण गरिएका होमस्टेका लागि बेलबारी नगरपालिकाले दुई लाख रुपियाँ अनुदान दिएको छ भने एक लाख २६ हजार ७६३ रुपियाँ स्थानीय समुदायबाट खर्च भएको छ । पाँच वटा घरमा दुुईदेखि तीन वटा शयन कक्ष, भित्रै शौचालय रहेका छन् । होमस्टे सञ्चालनले धिमाल जातिको सांस्कृतिक परिचय देशभर फैलिने मात्र होइन, चुलोचौकामा काम गरिरहेका आमा, दिदीबहिनीका लागि रोजगार सिर्जनासमेत हुने जोगेन्द्र धिमालको भनाइ छ ।
कुनै समय झापा र मोरङका भूमिपति धिमालहरू अहिले भूमिहीन बनेका छन् । धिमालहरूले आफ्नो समुदायलाई आर्थिक रूपमा परिचालन गर्न नसक्दा भूमिहीन भएको ७५ वर्षीय पदम धिमालले बताउनुभयो । धिमालले भन्नुभयो, “मेरो तीन बिघा जग्गा थियो । अहिले भूमिहीन भएको छु । छाप्रो हाल्नेसम्म घडेरी छैन ।”
होमस्टेपछि धिमाल संस्कृति र परम्परालाई एउटै आँगनमा हेर्न मिल्ने गरी धिमाल सङ्ग्रहालय निर्माण गरिने जोगेन्द्र धिमालले बताउनुभयो । बेलबारी–१०, माटीगाउँको राजाज्वाला धिमाल महाराजथानले चर्चेको नौ कट्ठा जग्गामा सङ्ग्रहालय र सामुदायिक भवन निर्माण हुने छ । बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले देशमै पहिलो पटक धिमाल होमस्टे सुचारु भएको जानकारी दिनुुभयो । धिमाल जातिको जीवित सङ्ग्रहालय निर्माण भएपछि माटीगाउँ एउटा नयाँ पर्यटकीय गन्तव्य बन्ने नगरप्रमुख राई बताउनुहुन्छ । पुरानो जातिलाई एकै ठाउँमा बसेर चिन्न, बुझ्न र पढ्न सकियोस् भनेर यो कार्यव्रmम ल्याएका हौँ । उहाँले भन्नुभयो, “यो कार्यव्रmमले धिमाल समुदायमा सामाजिक र आर्थिक चेतना भर्ने मात्र होइन । स्वरोजगार र आत्मनिर्भर बनाउन पनि सहयोग पुग्ने छ ।”
होमस्टेमा धिमाल समुदायले खाना परम्परागत खाना चिचिरीभात, बगिया, गेन्द्रो, चुदुर, तोये, केयाम खान पाइन्छ । यस्तै लगाउने पोसाक पेटानी, श्रममा प्रयोग हुने घरायसी सामग्री, कृषि प्रयोजनका सामान हेर्न सकिने छ ।