काठमाडौँ , चैत ५ गते ।
षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र ‘लालीबजार’ को सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ लाई दर्शकले रुचाएका छन् । गत शुक्रबार फागुन २९ गते सार्वजनिक गरिएको उक्त गीतलाई हालसम्म धेरै दर्शकले युट्युबमा हेरिसकेका छन् । गीतले लोकप्रियता पाएसँगै यो टिकटकर, रिल्स हेर्ने दर्शकको रोजाइमा परेको छ ।
गीतमा अभिनेतृ स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाले गरेको नृत्यको चर्चा अहिले सामाजिक सञ्जालमा बढिरहेको छ । दुवैले गीतमा गरेको अभिनयलाई अहिले टिकटक, भिडिओ, फेसबुक, रिल्समा हुबहु नृत्य गर्ने र भिडियो बनाउने प्रयोगकर्ता बढेका छन् ।
टिकटकमा हजारौँ भिडिओ बनेका छन्, जहाँ समाइरा र स्वस्तिमाको नृत्यको प्रशंसा भएको शब्द देख्न सकिन्छ । प्रयोगकर्ताले समाइरा र स्वस्तिमाको नृत्य शैली, गायक र गायिकाको आवाजको खुलेर तारिफ गरेका छन् । उनीहरूले चलचित्रमा लोकभाकाको प्रयोग गरिएको भन्दै निर्माण समूहलाई धन्यवाद पनि दिएका छन् ।
गीतलाई प्रदीप लामाले कोरियोग्राफी गर्नुभएको छ भने दीपिका बयम्बुमगर र खेम सेन्चुरीको स्वर रहेको छ । साथै सङ्गीत खेम सेन्चुरीकै रहेको छ भने शब्द रमेश बिजीले लेख्नुभएको हो । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेललगायतको अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्मातामा प्रदीप भट्टराई रहनुभएको छ भने म्याक्स दिपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुनुहुन्छ ।