काठमाडौँ, चैत ३ गते ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्नुहुने भएको छ । पश्चिम एसियामा युद्ध जारी रहेका बेला राष्ट्रपति ट्रम्पको चीन भ्रमणबाट नयाँ निकास निकाल्ने सम्भावना रहेको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । भ्रमण क्रममा राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच हुने शिखर वार्तालाई निकै महत्वसाथ हेरिएको छ ।
अमेरिका र चीनबिच लामो समयदेखि जारी व्यापारिक तनाव व्यवस्थापन गर्ने प्रयासस्वरूप दुवै देशका उच्चस्तरीय प्रतिनिधिले फ्रान्सको राजधानी पेरिसमा आर्थिक तथा व्यापार वार्ता गरेका छन् । राष्ट्रपति ट्रम्पको चीन भ्रमणको सन्दर्भमा भएको यो वार्तालाई महत्वपूर्ण तयारीका रूपमा हेरिएको छ ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्ट र चीनका उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलबिच पेरिसमा आइतबार र सोमबार दुई दिन सार्थक वार्ता भएको हो ।
राष्ट्रपति ट्रम्पले सन् २०१७ मा आफ्नो पहिलो कार्यकालमा चीनको भ्रमण गर्नुभएको थियो । त्यसयता अमेरिकाका राष्ट्रपतिले चीन भ्रमण गर्नुभएको छैन । पाँच महिनाअघि दक्षिण कोरियाको बुसानमा भएको भेटमा ट्रम्प र सीले बढ्दो व्यापार युद्ध रोक्न एक बर्से अस्थायी युद्धविराममा सहमति जनाउनुभएको थियो । त्यसअघि दुवै देशले एक–अर्काविरुद्ध क्रमशः उच्च दरका भन्सार शुल्क लगाउँदै आएका थिए ।
पेरिस वार्ता प्रत्यक्ष रूपमा व्यापार मुद्दामा केन्द्रित रहनुका साथै पश्चिम एसिया युद्धबारे पनि छलफल भएको बताइएको छ । इरानसँगको युद्धका कारण तेलको मूल्य र आपूर्तिमा बढ्दो अनिश्चितता देखिएकाले त्यसको असर विश्व अर्थतन्त्रमा पर्ने चिन्ता बढेको छ । ट्रम्पले शनिबार चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलगायत देशले स्ट्रेट अफ हर्मुज ‘खुला र सुरक्षित’ राख्न युद्धपोत पठाउने अपेक्षा गरिएको बताउनुभएको थियो । गत साता चीनका विदेशमन्त्री वाङ यीले सन् २०२६ लाई चीन–अमेरिका सम्बन्धका लागि महत्वपूर्ण वर्ष हुने बताउनुभएको थियो ।