alliance khabar

बुधबार, माघ २१, २०८२

काठमाडौँ, माघ २१ गते ।

 नेपाल समुद्रपार निकासी पैठारी सङ्घले वाणिज्यसँग सम्बन्धित निजी क्षेत्रको चासोका विषयमा सरकारलाई ध्यानाकर्षण गराएको छ । सङ्घको प्रतिनिधि मण्डलले वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेलाई मङ्गलबार उहाँकै कार्यकक्षमा भेटेर ध्यानाकर्षण गराएको हो ।

सो अवसरमा सङ्घले तयार गरेको सुझाव प्रस्तुत गर्दै सङ्घका महासचिव जयन्तकुमार अग्रवालले केही महिनायता नेपालका लागि आयातित सामान भारतीय भूमिमा ढुवानी गर्दा विलम्ब भइरहेको जानकारी गराउँदै नेपाली सामान ढुवानीका लागि थप रेल उपलब्ध गराउने पहल गरिदिन सचिव घिमिरेलाई आग्रह गर्नुभयो ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझावबमोजिम भारतीय र नेपाली बजारमा वस्तुको मूल्यमा फराकिलो अन्तर नहुने गरी भन्सार महसुल र अन्य करका दर समायोजन गरी ‘ग्रे’ मार्केट नियन्त्रण गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

तेस्रो मुलुकमा निर्मित मेसिन औजारका पार्टपुर्जा भारतबाट आयात गर्न पाउने व्यवस्थाका लागि नेपाल–भारत वाणिज्य सन्धिको प्रोटोकल संशोधनका लागि पहल गर्न पनि सङ्घले आग्रह गरेको छ । हालको प्रावधानले गर्दा तेस्रो मुलुकमा निर्मित मेसिन बिग्रेको अवस्थामा भारतमै उपलब्ध पार्टपुर्जा पनि त्यहाँबाट ल्याउन नपाउँदा सम्बन्धित देशबाटै ल्याएर मर्मत गरी सञ्चालन गर्न लामो समय लाग्ने सङ्घको गुनासो छ । त्यस्ता सामान भारतबाट औपचारिक रूपमा ल्याउन नपाए पनि खुला सीमामार्फत अनधिकृत रूपमा आउँदा राजस्व गुमिरहेको पनि सङ्घले बताएको छ ।

पछिल्लो समय सरकारले स्थगित गरेको निर्यातको नगद अनुदान अविलम्ब सुचारु गर्न पनि सङ्घले माग गरेको छ । त्यसै गरी एजेन्सी ऐनका कठिन प्रावधान संशोधन गर्न जोड दिएको सङ्घले फर्म नवीकरणमा एकद्वार नीतिको आवश्यकता औँल्याएको छ ।

सरकारी निकायमा एक ठाउँमा कागजात पेस गरिसकेको अवस्थामा ती कागजात आवश्यक पर्दा जुनसुकै सरकारी निकायले अनलाइनबाटै प्राप्त गर्न सक्ने प्रणाली विकास प्रक्रिया सरलीकरण गर्न पनि सङ्घले माग गरेको छ ।

अधिकतम खुद्रा मूल्यको विषयमा विद्यमान द्विविधा हटाउन, प्रत्येक फर्मले वार्षिक कारोबारको फाँटबारी वाणिज्य विभागमा पेस गर्नुपर्ने प्राइभेट फर्म रजिस्ट्रेसन नियमावलीको प्रावधानले व्यवसायको लागत बढाउने र झन्झट थप्ने काम मात्र गरिरहेको गुनासो सङ्घले गरेको छ ।

सङ्घले खुला बजार अर्थतन्त्रको मान्यताविपरीत सामान्य जनजीवनका आवश्यक वस्तु आयातमा प्रतिबन्ध नलगाउन पनि आग्रह गरेको छ । आयातमा प्रतिबन्ध लगाइएका वस्तु सीमानाकाका छिद्रमार्फत अनधिकृत रूपमा आयात भई बजारमा खुलेआम बिक्री हुने हुँदा यसबाट राजस्व गुम्ने, वैधानिक व्यापार रोकिने र अनधिकृत व्यापार फस्टाउने सङ्घको तर्क छ ।

जवाफमा सचिव घिमिरेले विभिन्न वस्तुमा आयातमा कायम प्रतिबन्धबारे अध्ययन गरी सुझाव पेस गर्न आफूले समिति गठन गरिसकेको जानकारी गराउँदै सङ्घले उठाएका विषयलाई सम्बोधन गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने आश्वासन दिनुभयो ।

सङ्घका अध्यक्ष शिवकुमार अग्रवालले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलमा महासचिव जयन्त अग्रवाल, सचिव विष्णुकुमार जोशी र कार्यसमिति सदस्य मयङ्क केडिया र आकाश गोल्छा सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल